
चौतारी पोष्ट अनलाइन
२९ फागुन २०७७
काँकरभिट्टा । प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली काँग्रेसका पुराना नेता तमर राईको निधन भएको छ । शुक्रबार राती उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि राईलाई धुलावारी स्थित आम्दा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारीक स्रोतले चौतारी पोष्ट अनलाइनलाई जनाएको छ ।

तमर राई नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा हुन् भने काँग्रेसका तत्कालीन सकृय नेता र समाजसेवीका रुपमा समेत परिचित रहेका छन् । उनी अहिले काँकरभिट्टा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका थिए ।नेता राईको निधनले नेपाली काँग्रेस तथा समाजले एक सच्चा एवम् निष्ठावान नेता गुमाएको काँग्रेसका अगुवा कार्यकर्ता दुर्गाप्रसाद सापाकोटाले बताए ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् । नेपालको पूर्वी पहाडि क्षेत्रमा प्रजातन्त्रको प्राप्तिका निम्ति राईका पितादेखि नै उनको परिवार सकृय रहेको थियो । प्रजातन्त्र र जनअधिकारका निम्ति सदैव सकृय स्वर्गीय राईप्रति चौतारी पोष्ट अनलाई परिवार हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दछ साथै शोक सन्तप्त परिवारजनमा समवदेना प्रकट गर्दछौँ ।( स्वर्गीय तमर राई सँग केही समय अघि चौतारी पोष्ट अनलाइनले लिएको अन्तरवार्ता समेत उनको स्मरण राखेका छौँ )



