खबर

सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव

काठमाडौं ,चैत १, २०७७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

जसपाका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए। भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता साझेदारीको प्रस्ताव गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए। ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव उहाँहरूले राख्नुभयो’, वार्तापछि यादवले भने, ‘नयाँ समीकरण बनाउने विषयमा छलफल गर्न उहाँहरूले हामीलाई बोलाउनुभएको हो।’

भेटवार्तामा माओवादी केन्द्रका नेताहरूले नयाँ सरकार बनाउने विषयमा मात्र नभई आगामी चुनावसम्म सहकार्य गर्न प्रस्ताव गरेको जसपाका नेताहरूले जनाएका छन्। ‘उहाँहरूले यो सहकार्य नयाँ सरकार बनाउन मात्र नभई आगामी चुनावसम्म गरौं भनी प्रस्ताव गर्नुभएको छ’, यादवले भने। यसबारे कुनै निष्कर्षमा भने नपुगिएको जसपाका नेताहरूले बताएका छन्। भेटमा रेशम चौधरीको रिहाइलगायत जसपाका अजेन्डाहरूमा पनि छलफल भएको थियो। भेट सकारात्मक भएको यादवले बताए। उनका अनुसार यस्तो भेटघाट र छलफल जारी रहनेछ।

सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कुराकानी सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए। जसपाका अध्यक्षद्वय यादव र ठाकुरसहित पाँच शीर्ष नेता पेरिसडाँडा पुगेका थिए। नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button