खबर

एनआरएनएले निर्माण गरेको एकीकृत नमुना बस्तीको झ्यालढोका प्लास्टिकको

चैत ६, २०७७
गोरखा । धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्।

‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे।

भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ।

सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैंले बनाएका छन्। ‘भन्न त हामीले हस्तान्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए। तर, मैले नै हो सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङले भने, ‘जस्ता पनि यति कच्ची छ कि, वडाध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो। अरू ३०–३५ वटा घरका जस्ता प्वाल परेका छन्।’

एनआरएनएको भर पर्दा स्थानीयले अरू धेरै अवसर गुमाउनुपरेको उनले बताए।  अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button