खबर

ग्राहक खोसेको भन्दै पठाओ चालकप्रति ट्याक्सी व्यवसायी रुष्ट

काठमाडौं, चैत १२, २०७७
काठमाडौं । सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व चर्कियो ।

मंगलवार पठाओले आफ्नो एपमा समस्या आएको भन्दै सेवा सञ्चालनमा रोक लगायो । सोही दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै पक्षलाई बोलाएर छलफल ग¥यो । महाशाखाले घटनामा संलग्न चालक आबद्ध संस्था उपत्यका मिटर ट्याक्सी व्यवसायी चालक सेवा समाज र पठाओका प्रतिनिधिलाई महाशाखामा बोलाएर मिलापत्र गराइएको जानकारी दिएको छ ।

‘ट्याक्सी व्यवसायीले माफी मागेपछि दुवै पक्ष मर्यादित भएर आ–आफ्नो सेवा सञ्चालन गर्ने सहमति भएको छ,’ महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले भने, ‘त्यसयता कुनै समस्या देखिएको छैन ।’ महाशाखाले दुई पक्षबीच सहमति भएको बताए पनि पठाओ र ट्याक्सी चालकबीचको द्वन्द्व कायमै छ ।

नेपालमा राइड शेयरिङ व्यवसाय शुरू भएको ५ वर्ष बितिसकेको छ । तर यो व्यवसायले आफ्नो रोजगारी खोसेको भन्दै ट्याक्सी व्यवसायी रुष्ट छन्, जसकारण दुई पक्षबीचको विवाद चर्किंदो छ ।

अघिल्लो वर्ष माघमा पाटन उच्च अदालतले कानून बनाएर यो व्यवसायलाई नियमन गर्न सरकारलाई निर्देशन दिएको थियो । यसका लागि यातायात व्यवस्था विभागले राइड शेयरिङ व्यवसायको मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको भए पनि कानून बन्न सकेको छैन ।

उपत्यका मिटर ट्याक्सी व्यवसायी चालक सेवा समाजका केन्द्रीय सदस्य विष्णु चौहानले तत्काल पठाओलाई नियमन नगरिए जुनसुकै बेला अप्रिय घटना हुन सक्ने बताए । सोमवार पठाओ चालकबाटै ट्याक्सी चालकमाथि आक्रमण भएको जिकीर गर्दै उनले यसबाट ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व थपिएको बताए । आर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button