खबर

उपत्यकाको वायु अत्यन्तै घातक

काठमाडौं, चैत १५, २०७७
उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।

यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। अल्पकालीन (तत्काल) रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।

शुक्रबार बिहानदेखि नै उपत्यकामा आँखा पोल्नेलगायत समस्या स्थानीयमा देखिएको थियो। नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धुलोका कणले समस्या निम्त्याउँछ। धुलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन्। ससाना कण फोक्सोमै पुग्छन्। घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ।

प्रदूषणले छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ। ब्याक्टेरियल, फंगल, प्यारासाइटलगायत अनेक संक्रमणको सम्भावना बढी हुन्छ। छालामा मसिना दाना देखिने, चिलाउने, छालाबाट धुलोजस्तै झर्छ।अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button