
स्वतन्त्र चुनाउको पक्षधर रहेकोले जीटीए अहिले सरकारी नियुक्त व्यक्तिले चलाओस् : अनित थापा
मार्च 28, 2021
सिलगढी : चुनाउ आयोग कमिशनले विधानसभा चुनाउ अवधिसम्मको लागि आफूलाई जीटीए चेयरम्यानको पदबाट हटाएकोबारे हाल चारैतिर हो-हल्ला भइरहे तापनि हालसम्म जीटीएले यसबारे कुनै आदेश नपाएको जीटीए चेयरम्यान अनित थापाले बताएका छन्। तथापि, आफू स्वतन्त्र तथा निष्पक्ष चुनाउको पक्षमा रहेकोले गर्दा नै चुनाउ सम्मको लागि चेयरम्यानको पदभार नसम्हालेको जानकारी दिँदै आउँदो चुनाउमा पहाडको तीनैवटा आसनमा आफ्नो दलले विजय हासिल गर्नेबारे आश्वस्त रहेको तिनले बताए। यसको साथै चुनाउको समयमा आफ्नो पदको दुरूपयोग गरेर मतदाताहरूलाई आकर्षित गर्योक भन्ने विपक्षीहरूले टीका-टिप्पणी गर्न नपाओस् भन्ने आफ्नो सोँच रहेको तिनले बताएका छन्। चुनाउ आयोग कमिशनले बङ्गालका सबै राजनीतिक तौरमा चयन गरेका प्रशासनिक अधिकारीहरू, म्युनिसिपल कर्पोरेसनका बोर्ड प्रमुखहरूलाई समेत तिनीहरूको पदबाट चुनाउ अवधिको निम्ति हटाइएको छ भने जीटीए-लाई पनि यस नियमबाट अलग नगराइयोस् भन्ने आफ्नो चाहना रहेको अनित थापाको भनाइ रहेको छ। यसको साथै तिनले चुनाउ आयोग कमिशनलाई जीटीए चेयरम्यानको पदमा चुनाउ आचार संहिता लागू भइञ्जेलसम्म मई महिनाको दोसो सातासम्मको लागि कुनै सरकारी व्यक्ति नियुक्ति गरिदिओस् भन्ने अपील गरेका छन्। यदि सरकारी व्यक्ति उक्त जीटीएको चेयरम्यान पदमा नियुक्ति गरिए आफ्नो पार्टीका उम्मेद्वारहरूको पक्षमा आफूले त्यस समय निर्धक्क चुनाउ प्रचार गर्नसक्ने छु भनी तिनले बताएका छन्। तिनले यसपल्टको चुनाउ स्वतन्त्र अनि निष्पक्ष हुनेछ भन्ने कुरामा विश्वास व्यक्त गर्दै आफू चौकी अनि पदको लोभ नरहेको तर नयाँ सोँच र नयाँ विचार-लाई मन पराएर आत्मसात गर्दै आफ्नो पार्टीका प्रार्थीहरूलाई मतदान गर्न चाहने व्यक्तिहरू समक्ष आफू जान चाहेको अनित थापाले बताएका छन्।
दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस अध्यक्ष कुन्तल रायको वाहन तोड़फोड़, जाँचमा जुट्यो पुलिस

मार्च 28, 2021
सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस सभापति कुन्तल रायको वाहनमा तोडफोड गरेको घटनाले इलाकामा तनाउको माहौल सृष्टि भएको छ। प्राप्त जानकारीअनुसार गत राति कुन्तल राय डाबग्राम-फुलबारी विधानसभा आसनका प्रार्थी गौतम देवको समर्थनमा चुनाउ प्रचार गरेर घर फर्केपछि तिनले आफ्नो वाहन घर अघि राखेका थिए। तर आज बिहान तिनको वाहन केही दुष्कृतिहरूले तोड़फोड गरेको अवस्थामा देखेपछि यसबारे सिलगढी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर सीसीटीभी फुटेजको सहयोगमा घटनाको छानबीन शुरू गरेको छ। दुष्कृतिहरूले वाहन तोडफोड गर्नको साथै वाहनमा राखेको पार्टीको केही आवश्यक कागजपत्रहरू समेत लगेको कुन्तल रायले बताएका छन्। उक्त घटनामा भाजपाका कार्यकर्ताहरू संलग्न रहेको हुनसक्ने तिनले आशंका व्यक्त गरेका छन्। तथापि, भाजपाले उक्त आरोपलाई अस्वीकार गर्दै भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष राजु साहाले सिलगढी पुलिसले घटनाको जाँच गरिरहेको बताए। घटनामा कुनै पनि भाजपा सदस्य सामेल नरहेको तिनले दावी गरेका छन्।
जलपाईगढीको एउटा चारतले भवनमा आगलागी

मार्च 28, 2021
जलपाईगढी : जलपाईगढीको दिनबजार इलाकाको मारवाडीपट्टीस्थित एउटा चारतले भवनमा आज बिहान आगलागी हुँदा सर-समानहरू जलेर खरानी भएको छ। आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे छानबीन भइरहेको छ भने सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने दमकल कर्मचारीहरूले प्राथमिक अनुमान लगाएको छ।
पार्टी समर्थक अनि गाउँलेहरूसित मनाए होली उत्सव प्रार्थी अशोक भट्टाचार्यले

मार्च 28, 2021
सिलगढी: संयुक्त मोर्चाका वामपन्थी उम्मेदवार अशोक भट्टाचार्यलाई आज बिहान होलीको तिहारमा रमझम गरेको देखियो। आज घरबाट चुनाउ प्रचारमा निस्किन अघि पार्टीका कार्यकर्ता तथा समर्थकहरूले अशोक भट्टाचार्यलाई होलीको शुभकामना दिँदै विभिन्न रङ्गी-विरङ्गी अबीर लगाइदिए। यसपछि अशोक भट्टाचार्य आफ्नो इलाकाको साना नानीहरू, कार्यकर्ता अनि समर्थकहरूसित पनि होली खेले। चुनाउ प्रचार अवधि अशोक भट्टाचार्यले भने, पश्चिम बंगाल रङ्गी-बिरङ्गी फूलहरूको बघैचा जस्तो छ। सबै धर्मका मानिसहरू यहाँ बसोवासो गर्दछन्। तर पगला गोरूले यस सजाइएको बघैचामा पसेर नष्ट गर्ने कोशिश गरिरहेका छन्।siliguritimes/from,india



