
चैत २१, २०७७
काठमाडौं (हाम्रो खेलकुद) – आजदेखि (शनिबार) सुरुहुने ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा नेपाल एपिएफ क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदै छ ।
खेल विहान ९ बजे टियु क्रिकेट मैदानमा हुने छ । प्रदेश-१ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र एपिएफ सीता राना मगरको कप्तानीमा मैदान उत्रने छ । राष्ट्रिय खेलाडीको बाहुल्यता साथै उपाधिका प्रमुख दाबेदार यी दुई टोलीबीच उच्च प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
गत पुषमा लमहीको दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा फाइनलमा प्रदेश १ ले एपिएफलाई ६ रनले इतिहास रचेको थियो । जुन प्रदेश एकले जितेको पहिलो राष्ट्रिय उपाधि थियो । प्रदेश १ मा कप्तान रुविनासँगै काजल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, सबनम राई र संगिता राईले नेपालबाट खेलि सकेका छन् । त्यस्तै युवा खेलाडी निग्मा तामाङ, लकिता राजबंशी र ज्योति दनवार नेपालको यू(१९ टोलीबाट खेलेका खेलाडी हुन् । प्रदेश १ लाई उपाधि जिताउन रुविना, अप्सरी, सबनम र संगिताले उच्च प्रदर्शन गरेका थिए । प्रदेश १ एपिएफलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ । सबनम र रुविना घातक बन्न सक्छन् । यता एपिएफ प्रधानमन्त्री कपको फाइनको बदला लिँदै उत्कृष्ट विजयी सुरुवात गर्न चाहन्छ । एपिएफमा सीतासँगै सरिता मगर, ईन्दु बर्मा, ममता चौधरी, करुणा भण्डारी, सोनु खड्का लगायतका खेलाडी छन् ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर ११ सँग खेल्ने छ । खेल १ बजे टियु मैदानमा हुने छ । सुदूरपश्चिमको ऋतु कनोजिया र ललितपुरको सरस्वती चौधरीको कप्तानीमा मैदान उत्रने छन् । सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा स्थान बनाउदै यस प्रतियोगिता खेल्न पाएको हो । ललितपुरमा प्रधानन्त्री कपमा सेमिफाइनलमा पुग्न नसकेका टोलीबाट बनाईएको छ ।
सुदूरपश्चिममा आक्रामक ब्याट्टर डली भट्ट, तीव्र गतिकी बलर कविता कुँवर, स्पिर कविता जोशी, ऋतु, मन्जु बोगटी, विन्दु रावल लगायतका खेलाडी छन् । ललितपुरमा सरस्वतीसँगै सुमन खतिवडा, आरती विडारी, अस्मिना कर्माचार्य र कविता गौतम लगायतका खेलाडी छन् । पाँच टोली सहभागी यस प्रतियोगिता लिगको आधारमा हुने छ ।
लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउने छन् । चैत २१ देखि २८ सम्म टियु मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण प्रत्यक्ष प्रसारण एक्सन स्पोटर््सले गर्ने छ । विजेताले ३ लाख र उप विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५–१५ हजार प्राप्त गर्ने छन् ।



