वैशाख २, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता-२०७८ अर्काे सातादेखि सुरु हुने भएको छ ।
आयोजक भोटेकोशी गाउँपालिकाको बिहिबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिता वैशाख ८ देखि ११ सम्म हुने छ । प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफसँगै होंगान्जी न्यू डायमण्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता लिग कम नकआउट पद्दतिमा आयोजना हुनेछ । प्रतियोगिता विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधि सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७-७ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालीकाले ५ लाख रुपैयाँ छुट्याएको छ । प्रतियोगिताको हरेक खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्नेछ ।



