
२ बैशाख २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेकपा (एमाले)भित्र चर्केको अन्तर पार्टी संघर्षको परिणाम विभिन्न जिल्लामा देखिन थालेको छ । एमाले भित्र अहिले देखिएका पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूूहका आ आफ्ना गतिविधिले एमाले भित्र थप समस्यालाई बढाएको देखिन्छ । विभिन्न जिल्लामा पछिल्लो समयमा नेपाल समूहले समानान्तर कमिटिहरु गठन गर्न थालेपछि एमाले भित्र अन्तर कलह बढेको हो ।
एमाले भित्रका दुई समुहको बढ्दो अन्तर संघर्षको आँकलन भोली (शुक्रबार) झापा जिल्लामा समेत नेपाल समूहले समानान्तर कमिटि घोषणा गर्ने कार्यक्रमले प्रष्ट पारेको छ। चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार भोली (शुक्रबार) झापाको बिर्तामोडमा नेपाल समूहले समानन्तर पार्टीको घोषणासँग जन वर्गीय संगठनको घोषणा गर्ने समेत बुझिएको छ । प्राप्त जानकारी अनुसार सो कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एमाले नेता घनश्याम भुषाल लगायतका नेताहरुको उपस्थिति र सम्बोधन रहने बताईएको छ ।



