
‘पुल देऊ, भोट लैजाऊ’ भन्ने माग गर्दै रायगञ्जमा गाउँलेहरूद्वारा भोट बहिष्कार
अप्रील 22, 2021
हेमताबाद: रायगञ्ज शहर संलग्न ग्राम खलसी इलाकामा नदी पार गर्नको लागि पुलको साधन छैन। सम्बन्धित विभिन्न ठाउँहरूमा पुल निर्माण गरिदिने मागलाई लिएर जानकारी दिए तापनि कुनै फाइदा नभएपछि अन्तमा हेमताबाद विधान सभाको शेरपुर लाइनपाड़ाको बूथ नम्बर 129/129 ए,1098 का मतदाताहरूले चुनाउ बहिष्कार गर्ने निर्णय लिएको छ। रायगञ्ज शहर संलग्न ग्राम खलसी इलाका नजिक कुलिक नदी रहेको छ। यो कुलिक नदीले खलसी, महेन्दीग्राम, शेरपुर, दक्षिण शेरपुर, खोकसा लगायत अन्य केही गाउँहरूलाई अलग गरेको छ। यस नदी पार गर्नको लागि मानिहरूले अस्थायी बाँसको पुलको सहायतामा यातायात गर्ने गर्छन् तर वर्षाको मौसममा नदीको जलस्तर बढ़ने भएकोले ईलाकाका मानिसहरू धेरै लामो दुरी तय गरेर रायगञ्ज शहर जान वाध्य छन्। भोटको समयमा मात्र विभिन्न राजनीतिक पार्टीका नेताहरूले पुल निर्माण गरिदिने आश्वासन दिइने गर्छन्। गाउँलेहरूले लगाएको आरोप अनुसार भोट सकिएपछि पुल निमार्ण गर्नको लागि कसैले पनि हालसम्म पहल गरेनन्। यसैले गर्दा गाउँलेहरूले यस पल्टको विधानसभाको मतदान बहिष्कार गर्ने निर्णय लिएको हो। तिनीहरूको माग ‘पुल देऊ, भोट लैजाऊ’ भन्ने रहेको छ।
45 वर्षभन्दा अधिक उमेरका मानिसहरूलाई मङपु अस्पतालमा कोरोना भ्याक्सिन लगाउने क्रम जारी

अप्रील 22, 2021
मङ्पु: तकदाह स्वास्थ्य खण्ड अन्तर्गत पर्ने मङपु सरकारी अस्पतालमा लगातार रूपमा कोरोना भ्याक्सिन लगाउने क्रम जारी छ। पाँचौं चरणमा आज 45 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूलाई मङपु अस्पतालमा कोरोना भ्याकसिन लगाएको तकदाह खण्ड स्वास्थ्य कर्मी रुपेश सिङदनले जानकारी दिएका छन्। आज बिहान पानी झरीको पर्वाह नगरी मङपुका मानिसहरूले सयौंको संख्यामा कोभिड 19-को भ्याक्सिन लगाए। 45 वर्ष पुगेका मानिसहरूले आज प्रथम चरणको कोभिड भ्याक्सिन लगाए भने आगामी मई महिनाको पहिलो सातादेखि 18 वर्षभन्दा अधिक उमेर पुगेकाहरूलाई कोभिड 19-को भ्याक्सिन लगाइने योजना रहेको बताइएको छ।
आज मङपु अस्पतालका स्वास्थ्य कर्मी, आईसीडीएस कर्मचारी, एएनएम अनि तकदाह खण्ड स्वास्थ्य केन्द्रका कर्मचारीहरूको सहायतामा कोभिड भ्याक्सिन लगाइने कार्य गरियो। कोभिड 19-को भ्याक्सिन लगाउँदा प्रयोग गरिएको सिरिन्ज दुईपल्ट प्रयोग गरिरहेको अफवाहलाई अस्वीकार गर्दै कोभिड 19-को सिरिन्ज एकपल्ट मात्र प्रयोग गरिरहेको साथै भाँचिएर फ्याँकिने हुनाले केवल एकपल्ट सिरिन्जको प्रयोग हुने एएनएम रिना धमालले बताइन्। तिनले यस्ता अपत्यारिला अफवाह कसैले पनि नपत्याइदिने अपील गरेकी छन्।
इस्लामपुर विधानसभाका तृणमूल प्रार्थी अब्दुल करीम चौधरीले गरे मतदान

अप्रील 22, 2021
इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेसका प्रार्थी अब्दुल करीम चौधरीले आज इस्लामपुर पुरातन पल्ली बुथमा गएर मतदान गरे। यस अवधि तिनले बुथमा पर्याप्त लाइटको व्यवस्था नभएकोले गर्दा क्षोभ प्रकट गरे। यसको साथै तिनले चाँडै मतदान केन्द्रहरूमा पर्याप्त लाइटको व्यवस्था गर्ने माग गर्दै यसको जानकारी महकुमाशासकलाई दिइने तिनले बताए।
ब्रिटिसकालीन बालुवाबाँसको झोलुङ्गे पुल जीर्ण अवस्थामा

अप्रील 22, 2021
बिजनबारी : दार्जिलिङ जिल्लाको सोम, सिङताम अनि चुङथुङ चियाबारीको फेदमा अवस्थित ब्रिटिसकालीन बालुवाबाँस झोलुङ्गे पुल अहिले अति नै जीर्ण र सोँचनीय मात्र नभएर जोखिमपूर्ण अवस्थामा पुगेको छ। यस क्षेत्रको जीवनरेखा मानिने यो झोलुङ्गे पुल विगत 2013-मा मरमति गरिएको थियो भने अहिले यो पुलको अवस्था एकदमै जोखिमपूर्ण बन्न पुगेको स्थानीय मानिसहरू बताउँछन्। गत 2019 को जुलाई महिनामा उत्तर बंग विकास परिषदका चेयरम्यान अमरसिंह राईले यस पुलको भ्रमण र निरीक्षण गरेपछि चाँड़ै नै यसको जीर्णोद्धार गरिदिने स्थानीय मानिसहरूलाई आश्वासन दिए तापनि सो आजसम्म पूरा नभएकोबारे गाउँलेहरूले दुखेसो पोखेका छन्। स्थानीय मानिसहरूले बताए अऩुसार यदि यस पुलको चाँडै मरमति नगरे कुनै पनि समय ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको छ। यसैले गर्दा तिनीहरूले अब चाँडै यस झोलुङ्गे पुलको मरमति गरिदिने सम्बन्धित निकाय समक्ष माग गरेका छन्।siliguritimes/from,india



