
वैशाख १०, २०७८
एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा एन्जल कोरिया र यान्निक कारास्कोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए ।
८०औं मिनेटमा लोरेन्टेकै पासमा यान्निक कारास्कोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । एट्लेटिकोले शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा फर्किएको हो । एट्लेटिकोको ३२ खेलबाट ७३ तथा समान खेलबाटै रियलको ७० अंक छ ।
एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ । पराजित हुएस्का २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । यस्तै ला लिगाको अन्य खेलमा ग्रानडाले एइवरलाई ४–१ ले तथा रियल सोसिडाडले सेल्टा डि भिगोलाई २–१ ले पराजित गरेको छ ।hamrokhelkud/from



