‘समाचार र विचारको
साझा चौतारी’






‘कबड्डी ४’ को मुहूर्त, दया र सौगात फेरि एकसाथ


फिल्मीखबर, काठमाडौं, 2021/04/24

अभिनेता दयाहाङ राईले फिल्म ‘बिहे पास’ को पहिलो चरणको छायांकन पूरा गरेर काठमाडौं फर्केसँगै उनको मुख्य भूमिका रहने अर्को फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो ।

निर्देशक रामबाबु गुरुङले लकडाउन नभएको खण्डमा बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने बताए । ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको फिल्ममा दयाहाङसँगै सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले सिनेमा हलसहित विभिन्न क्षेत्रलाई बैशाख मसान्तसम्म बन्द गरेको छ । तर, छायांकन कडाइ नगरिएकाले निर्माताहरु सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको सुटिङ गरिरहेका छन् । अहिले आधा दर्जन बढी फिल्मको छायांकन भइरहेको छ । अब ‘कबड्डी ४’ पनि मुहूर्त गरेर छायांकनमा निस्कन तयार भएको छ ।

प्रतिकृया दिनुहोस्