विचार

धूमपानलाई कर, देशलाई युवाको भर

डा. जयकुमार गुरुङ

मोफसलका एक विद्यालयमा कक्षा ९ मा अध्ययरत स्कूल पोशाकमै ठाँटिएका एक छात्रालाई सुर्तीजन्य पदार्थको अनुसन्धानको क्रमममा प्रश्न सोधिन्छ–‘के तपाईंसुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ?’ छात्राबाट तुरुन्तै जवाफ आयो, ‘हजुर म गर्छु।’ यो जवाफ प्रश्नकर्ताका लागि बिल्कुलै अनपेक्षित थियो । त्यसैले प्रश्नकर्ता अनायास नै ट्वाल्ल परेर छात्राको अनुहारमा नजर पु-याउँछन् । धन्यवाद छ ती छात्रालाई, जसले प्रश्नकर्ताको अपेक्षालाई वास्ता नगरी साँचो सूचना उपलब्ध गराएर अनुसन्धानलाई सहयोग पु-याएकीमा ।

लामो प्रश्नावलीअगाडि बढ्दै जाँदा कुन प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ ? कुन मौसम र समयमा? कति मात्रामा ? कहिले र कसरी शुरु भयो? आदि प्रश्नका उत्तरहरु विनाहिचकिचाहट प्राप्त भएको हुनाले तीनलाई विश्लेषण गरी निष्कर्ष निकाल्न सहज भएको थियो । उनले झुटो जवाफ दिएर नक्कली ज्ञानी विद्यार्थी भइदिएको भए सारा अनुसन्धानको तथ्याङ्क बिग्रने र नतिजा पनि फरक आउने हुन्थ्यो । उक्त अनुसन्धानका लागि ४९ जिल्लाका २ हजार ८ सय घरधुरी नेपालभरलाई नै प्रतिनिधित्व गर्नेगरी गरिएको सर्वेक्षणमा वयष्कलगायत सबै उमेरका मानिसहरुलाई सुर्तीजन्य पदार्थका बारेमा विविध प्रश्नहरु सोधिएको थियो ।सन् २०२० मा गरिएको उक्त सर्वेक्षणअनुसार सुर्र्तीजन्य पदार्थको प्रयोग दर ३२ प्रतिशत रहेको छ । यसको अर्थ १०० जना नेपालीमध्ये ३२ जनाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । यसमा सेकेन्ड ह्यान्ड स्मोकर (सेवनकर्तासँगै बस्ने) र थर्ड ह्यान्ड स्मोकर (सेवन गर्ने र नगर्नेले एउटै समान वा ठाउँ प्रयोग गर्ने) हरुलाई जोडिएको छैन । यीतीनै प्रकारका सेवनकर्तालाई जोड्ने हो भने यो प्रतिशत धेरै नै हुन जान्छ । त्यस्तैगरी अहिलेको हुक्का सेवन अत्यधिक छ, त्यो पनि यसमा पर्दैन । ३२ प्रतिशत आफैंमा अन्य देशको तुलनामा अत्यधिक हो । यो सेवनकर्ताको दर महिलामा भन्दा पुरुषमा चार गुणा धेरै छ भने शिक्षाबाट वञ्चित वर्गमा धेरै छ। निम्न र मध्यम आय वर्गमा सुर्ती सेवनको दर ८० प्रतिशत पाइयो ।

कथित स्तरीय होटेलहरुमा विभिन्न प्mलेवरका (धुवाँ नआउने) खालका सिगारहरु (भेपिङ, मेन्थोल आदि) सेवनकर्ताहरुले आर्थिक हैसियत झल्काउने माध्यमको रुपमा सेवन गर्ने कार्य विकसित भइरहेको छ । उत्पादकहरुले भेपिङ, मेन्थोल आदि स्वास्थ्यका लागि हानि छैन भनेर धेरै प्रचारप्रसार गरे । तर, अनुसन्धानले देखाएअनुसार यस्ता कथित आधुनिक सुर्र्तीजन्य पदार्थले दीर्घरोग ल्याउन सक्छ र उत्तिकै हानिकारक छ भन्ने कुरा प्रमाणित भएको छ ।नेपाल सुर्र्तीजन्य पदार्थमा धेरै कम कर तिर्ने राष्ट्रको सूचीमा पर्दछ, जुन ३० प्रतिशतको हाराहारीमा छ । जब कि संयुक्त राष्ट्रसंघले कम्तीमा ७० प्रतिशत हुनुपर्छ भन्ने सिफारिस गर्दछ । दक्षिण एसियाको मात्र कुरो गर्दा सबैभन्दा बढी कर लगाउने देश बंगलादेश (७१ प्रतिशत), दोस्रोमा श्रीलंका (६६ प्रतिशत), भारत तेस्रो (५४ प्रतिशत) र नेपाल सबैभन्दा कम कर (३० प्रतिशत) कर लगाउने देशमा पर्दछ ।हाल संसारभर सताइरहेको विश्व महामारीको चपेटामा परिसकेपछि विश्वका धेरै देशहरुले सुर्र्तीजन्य पदार्थको व्यापार उपयोगमा नियन्त्रण गर्ने अवसरको रुपमा लिएका छन् र धेरै नयाँ–नयाँ पहलहरु ल्याइरहेका छन् । किनकि कोरोना भाइरसले ज्यान लिएकाहरुमा अधिकांश सुर्तीसेवन गर्नेहरु नै छन् । कोरोनाभाइरसको लक्ष्य फोक्सो हो र सुर्तीजन्य पदार्थ (धुवाँवाला) को प्रत्यक्ष असर पनि फोक्सो नै हो ।

महामारीको मौकामा विभिन्न देशहरुले सुर्र्तीजन्य पदार्थसम्बन्धी नयाँ कानुन ल्याएका छन् । अस्टे«लियाले इलेक्ट्रोनिक सिगरेटमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले २१ वर्षभन्दा मुनिका युवाहरुलाई सुर्तीजन्य पदार्थ किन्न नपाउने नयाँ ऐन ल्याएको छ । अमेरिकाकै म्यासेचुसेट, क्यालिफोर्नियाजस्ता राज्यहरुले सुगन्धित सुर्तीजन्य पदार्थ (भेपिड, मेन्थोल) आदिमा प्रतिबन्धलगाए । सिंगापुरले सुर्तीजन्य पदार्थलाई प्लेन प्याकेजिड गर्ने नीति लागू गरेको छ । त्यस्तैगरी जापान, जोर्डन, दक्षिण अफ्रिका, बोस्टावाना, भारत सबैले यस विषयमा गौण पुनरवलोकन गरी प्रगतिशील कानुन ल्याएका छन् ।माथि उल्लिखित अनुसन्धानमा सुर्तीजन्य पदार्थको सेवन साथीभाइबाट शुरु गरियो तर यो खराबी लत हो भन्ने सबैको एकमत भए तापनि यसलाई कसरी त्याग्न सकिन्छ भन्नेमा सबैबाट प्रश्नको उत्तर भने प्रस्ट आएन ।सुर्तीजन्य पदार्थ उत्पादकहरुको लक्ष्य युवा उपभोक्ता हुँदा रहेछन् । नहोस् पनि किन ?कुनै एक युवालाई १५ वर्षको उमेरमा सुर्तीजन्य पदार्थको लतमा फसाइदिएमा ऊ बाँचुन्जेलसम्मका लागि ग्राहक बन्ने भयो । किनकि कुनै मानिसले युवावस्थामा लागेका लत त्याग्न सजिलो छैन ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार सुर्तीजन्य पदार्थको उपयोग र बेचबिखन सार्वजनिक स्थलमा गर्न पाइन्न । सार्वजनिक स्थल भन्नाले शिक्षण संस्था, सरकारी कार्यालय, विमानस्थल, भोजनालय, सार्वजनिक सवारीसाधन, सार्वजनिक शौचालयलाई परिभाषित गरिएको छ । सार्वजनिक स्थलको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाइन्न । सिंगल स्टिक (खुल्ला खिल्ली) किन्न बेच्न पाइन्न । त्यसै गरी १८ वर्षभन्दा मुनिका बालबालिकाले सुर्तीजन्य पदार्थ सेवन र किनबेच गर्न पाइन्न भन्ने जस्ता कुरा ऐनमा प्रस्ट उल्लेख छ ।अधिकांश उत्तरदातालाई सुर्तीजन्य पदार्थको स्वास्थ्यमा के असर पर्छ भन्ने प्रश्नमा क्यान्सर रोग भन्ने चेतना भएको सबैले बताए । तर, यसबाट प्रत्येक वर्ष कति मानिसको ज्यान जाने गरेको छ, अन्य नकारात्मक असर के छ भन्ने कुरामा अनभिज्ञता प्रकट गरे । तथ्याङ्कले भन्छ– नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको सङ्ख्या वार्षिक २७ हजारभन्दा माथि छ । यो भनेको नेपालमा हरेक एक घण्टामा तीनजना मानिस सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका रोगका कारण ज्यान गुमाउँछन् । सुर्तीजन्य पदार्थले गर्दा मृत्यु हुनेहरुमा ५३ प्रतिशत मुटुसम्बन्धी रोगहरुको कारणले, २१ प्रतिशत श्वास–प्रश्वाससम्बन्धी रोगहरुको कारणले, १२ प्रतिशत अन्य सर्ने र नसर्ने रोगका कारणले र ८ प्रतिशत क्यान्सर रोगको कारणले हुनेगर्छ ।

देशमाबेराजगारी आक्रान्त भएको बेला रोजगारका लागि युवाहरु विदेशतिर लर्को लागेका छन् । युवा ऐन २०७२ अनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई युवा भनिएको छ, जसले कुल जनसङ्ख्याको ४० प्रतिशत ओगटेको छ । यी युवाहरु २६ प्रतिशतभन्दा माथि वैदेशिक रोजगारका लागि बाहिर जान्छन् । नेपालमै बाँकी बसेका युवाहरु सुर्तीजन्य पदार्थको सजिलै पहुँच र सस्तो मूल्यमा पाइने तथा थप बेरोजगारीको तनावका कारण शुरुमा सुर्तीजन्य पदार्थको लतमा फसेका छन् । त्यसपछि बिस्तारै लागू पदार्थको दुव्र्यसनीमा फस्ने उच्च जोखिममा रहेका छन् ।रोजगारका लागि विदेश जानेहरुको स्थितिपनि राम्रो छैन । नेपालबाट अधिकांश खाडी मुलुकमा गएका युवाहरुले घरेलु कामदार र निर्माण कम्पनीमा मजदुरको रुपमा रोजगारी पाएका छन् । नेपालबाट सरकारी निकायको समन्वयमा सुरक्षित व्यवस्थाका साथ विदेशिने युवाहरुको सङ्ख्या नगन्य नै होला । अतः विदेशमा गएर अलपत्र परेका र श्रम शोषणमा परेका समाचार दैनिक पढ्न पाइन्छ । कम्पनी वा मालिकको शोषण, परदेशमा घर–परिवारबाट टाढिनुपर्दाको चिन्ता आदिले सुर्तीजन्य पदार्थ नै सहारा भएको हुनाले विदेशमा बस्ने युवाहरुले खैनी–चुरोट नेपालबाट नै बोकेर जानेगरेका छन् । धेरै नेपालीले नेपालबाट आउने साथीभाइ पाएको अवसरमा सबैभन्दा प्यारो कोसेली खैनी–चुरोट ल्याइदिन अनुरोध गर्छन् ।

युवाहरुले यसरी सुर्तीजन्य पदार्थको सेवनको स्वास्थ्य क्षति कति छ भन्ने कुराको अनुसन्धान गर्न बाँकी छ । हामी ती युवाहरुको पसिनासँग साटिएकोरेमिट्यान्सबाट देश रमाइरहेको र फाइदा भएको हिसाब गरिरहेका छौं । तर ती युवाहरुले आफ्नो तनावका कारण सुर्तीजन्य पदार्थ प्रयोग गर्दा त्यसका नकारात्मक असरहरु, स्वास्थ्योपचार खर्च र सामाजिक मूल्य–मान्यतामा भएको क्षतिको मूल्याङ्कन गर्ने हो भने ती वैदेशिक रोजगारबाट आर्जन हुने सम्पत्तिभन्दा बेफाइदा नै हुने कुरा निश्चित छ ।हालको विश्वमहामारीको कारण लाखौं युवाहरु नेपाल आउन खोजेका छन् । तर देशमा रोजगारी र छाक टार्ने गुञ्जायस नदेखेर जसरी भए पनि विदेशमा अडिनुपर्ने बाध्यता छ । आसन्न आ.व. २०७८-७९ को बजेट नीति तथा कार्यक्रममा यी दुवै क्षेत्रलाई सही किसिमले सम्बोधन गरियोस् । यसैमा छ ‘स्वास्थ्य र सुखी नेपाली, समृद्धि नेपाल’ नाराभित्रको आशय। धूमपानजस्ता अखाद्य वस्तुलाई कर लगाएर नियन्त्रण गर्न अपरिहार्य छ भने, देशलाई सम्मुन्नत बनाउन युवाको भर चाहिएको छ, समयमा नै सरकारको हेक्का रहोस् ।

(लेखक डा. गुरुङ नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)को कार्यकारी निर्देशक हुनुहुन्छ ।)newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button