स्वास्थ्य

हर्निया के हो? कसरी हुन्छ उपचार?

डा सुयोग सिमखडा

हर्निया भनेको पेटको भित्ताको कुनै एक कमजोर भागबाट एक असामान्य द्वारको माध्यमबाट भिस्कसको असामान्य बल्जिंग (फुल्लिने) हो। भिस्कस भन्नाले हाम्रो पेट भित्रका आन्द्रा वा बोसो बुजिन्छ। हर्निया पेटको भित्ताको कुनै एउटा भागमा कमजोरी वा दोषको रूपमा हुन्छ। प्रकृतिले हामी मानवलाई दुई खुट्टामा उभिने विशेषाधिकार फाइदा दिएको छ र उही समयमा दुई खुट्टामा उभिएर हर्निया हुने बेफाइदा। इङ्गुइनल हर्निया (७५ प्रतिशत) सबैभन्दा सामान्य किसिमको हर्निया हो। किनभने इङ्गुइनल भागमा मांसपेशीको रचना शरीरको अरु भागको तुलनामा कमजोर हुन्छ।

इङ्गुइनल प्रकारको हर्निया पनि दुई प्रकारका हुन्छन: इन्डीरेक्ट र डीरेक्ट। इन्डीरेक्ट प्रकार युवा उमेर समूहमा अधिक सामान्य हुन्छ, यो दायाँपट्टि बढी सामान्य हुन्छ र ३० प्रतिशत केसहरूमा दुबैपट्टि देखापर्छ। जबकी वृद्ध उमेर समूहमा डीरेक्ट प्रकार अधिक सामान्य हुन्छ र यसमा ५० प्रतिशत दुबैपट्टि हुन सक्दछ। २-५ प्रतिशत नवजात शिशुहरु र बाल बालिकामा पनि हर्निया देखिने गरिएको छ जसमा हाइड्रोसिल सङ्गै रहेको हुन्छ।

महिलाहरुको तुलनामा पुरुषहरुमा हर्निया २५ गुणा बढी पाइन्छ। इङ्गुइनल बाहेक हर्नियाका अन्य प्रकारहरु पनि छन्। शारीरिक प्रकारको स्थानमा आधारित हर्नियाका अन्य प्रकारहरू यी हुन्:
फेमोरल, एपिगास्ट्रिक, अम्ब्लिकल, लम्बर, स्प्लिगेअन।

कुनै पनि कारण जसले इंट्राअब्डोमिनल/ पेटको दबावमा वृद्धि गर्छ अथवा पेटको पर्खालको मांसपेशीहरूलाई कमजोर गर्दछ, त्यस्तो अवस्थामा हर्निया हुने सम्भावना हुन्छ।

Types of Hernia | Hernia Surgery & Hernia Repair | Surgeons Perth
हर्नियाको विकासका लागि केही जोखिमयुक्त कारकहरू:
१. अत्यधिक भारी तौल उठाउनु,
२. दीर्घकालीन खोकी,
३. लामो समयदेखिको कब्जियत
४. बुढेसकालमा प्रोस्टेट बढ्नु,
५. गर्भावस्था,
६. धूम्रपान।

हर्निया कसरी बनेको हुन्छ र यसका लक्षणहरु कस्ता हुन्छन्??
हर्निया पेटभित्रका झिल्ली, स्याक र भित्र भएका आन्द्रा, बोसोले बनेको हुन्छ। यद्यपि कहिलेकाहीं आन्द्रा र बोसो बाहेक ठूलो आन्द्रा, पिसाब थैली, एपेन्डिक्स , फलोपियन ट्यूब पनि हुन सक्छ।

कुनै पनि हर्नियाको लक्षण र संकेत यसको प्रकारमा अनि स्थानमा निर्भर हुन्छ। लक्षणहरू केही हर्नियामा हुन सक्छ वा नहुन पनि सक्दछ। सामान्य र सानो हर्नियामा, पेट र इङ्गुइनल भागमा बल्ज वा गाँठो प्रायजसो देख्न र महसुस गर्न सकिन्छ। सिधा उभिएको बेला वा बल गरेर खोँक्दा त्यस्ता बल्ज वा गाँठो अधिक स्पष्ट हुन्छ।

बल्जको अलावा अन्य लक्षणहरूमा ग्रोइन र इङ्गुइनल भागमा भारीपन र ड्र्यागिन्ग अनुभव हुनुका साथै पुरुषहरूमा कहिलेकाहीँ अण्डकोश र त्यसको वरिपरि दुखाइ र सूजन हुन्छ। यस्तो आवस्थामा केही समय पर्खेर पनि शल्यक्रिया गराउन सकिन्छ तर धेरै लामो समयसम्म उपचार नगर्नाले भने यसको आकार क्रमशः बढिरहन्छ र त्यही अनुसार अप्ठ्यारो जटिलताहरू बढ्दै जान्छ जसले ज्यानलाई समेत जोखिममा पार्न सक्छ।

यस्ता जटिल हर्निया एकदम पीडादायी हुन्छ, यसको सबैभन्दा सान्दर्भिक लक्षण यो हो कि यो हर्निया धकेलेर पनि पेटको गुहामा फर्केर जान सक्दैनन् जसले गर्दा आन्द्रा वा बोसोको रक्त आपूर्तिको हानी, अवरोध वा दुबै हुन्छ। लगातार बान्ता हुनु, ज्वरो आउनु, पेट फुल्दै जानु, अचानक दिशा र वायु बन्द हुनु आन्द्रामा अवरोधका लक्षण हुन्। यस्तो बेला प्रायः बिरामी आपतकालिनमा आउँदछन् र यस्तो आवस्थामा तुरुन्त शल्यक्रिया गर्नु पर्ने हुन्छ जुन आन्द्रा र बोसो को आवस्था हेरेर जटिल पनि हुन सक्छ। जसमा कतिपय अवस्थामा अपरिवर्तनीय क्षति भएका आन्द्रा वा बोसोको निश्चित भागलाई निकालेर हटाउनुपर्ने हुन्छ।

उपचार कसरी हुन्छ?
हर्नियाको एकमात्र उपचार भनेको नै शल्यक्रिया हो। प्रायजसो सबै खाले हर्निया शल्यक्रियाको आधारभूत सिद्धान्त एउटै जस्तो हुन्छ। हर्नियाका लागि शल्यक्रिया शताब्दीयौंदेखि उपस्थित र विकसित हुँदै आएको छ। यसमा पनि धेरै खाले प्रविधिहरु हुन्छन्। जसमा सबैभन्दा बढी प्रयोग हुनेमा हर्नियालाइ आफ्नो मूल स्थानमा पठाएर माथी अथवा तलबाट जाली (Mesh) हाल्ने गरिन्छ। यस्तै हामीले गर्ने मध्ये एउटा सबैभन्दा सामान्य विधिलाई `लिचटेनस्टिन टेंशन फ्री रिपेयर´ भन्छौँ। त्यसबाहेक बिना जाली रखेर हुने बिधि नन- मेस/टिश्यू रिपेयर पनि गरिन्छ। बयस्क र वृद्ध बिरामीहरुमा थप इङुइनल भागको पछाडि पर्खालको मांसपेशिहरुलाई पनि सिएर थप बल प्रदान गरिन्छ।

एकातिर शल्यक्रिया उपचारको एउटा पाटा हो भने अर्का तिर हर्निया हुने मुल कारणको पनि उपचार गर्नु आवश्यक छ जस्तै धेरै भारी नउठाउने, लामो समयदेखिको खोकी र कब्जियतको उपचार गर्ने, धूम्रपान छोड्ने, प्रोस्टेट र पिसाब नलिको समस्याको सोही अनुसार उपचार गर्ने।

आजकल ल्याप्रोस्कोपिक हर्निया शल्यक्रिया अधिक लोकप्रिय भइरहेको छ। जसअन्तर्गत पेटमा सानो तीन वटा प्वाल बनाएर अनि क्यमेरा मोनिटरमा हेरेर गरिन्छ जसले गर्दा बिरामीहरुलाई शल्यक्रिया पछिको दुखाइको अनुभव कम हुन्छ र उनीहरु आफ्नो घर र काममा छिटो फर्किन सक्दछन्।

हाम्रो समाजमा रोग देखाउने लाजले गर्दा अजै पनि धेरै बिरामीहरु समयमा अस्पताल आउदैनन र पछि जटिलता लिएर गम्भीर आवस्थामा आउँछन्। त्यसकारण समयमा नै चिकित्सकलाई देखाएर, उपचार गराएर नै यो रोगबाट छुट्कारा पाउन सकिन्छ।

(जनरल सर्जन डा सिमखडा धुलिखेल अस्पतालमा कार्यरत छन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button