‘समाचार र विचारको
साझा चौतारी’






संसदीय व्यवस्था र नयाँ जनवाद


– हस्तबहादुर केसी

“ संसद खसिको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो । –“ माओत्सेतुङ

संसदीय व्यवस्था पुँजीपतिवर्ग र साम्राज्यवादीहरुले अंगाल्दै आएको शासन प्रणाली हो । समाज विकासका क्रममा सामन्तवादका विरुद्ध संघर्षको क्रममा संसदीय व्यवस्थाको जन्म भएको हो । यसको जग हाल्ने काम सन १६८८ – १६८९ मा बेलायतमा भएको पार्लियमेन्टमा शक्ति हस्तान्तरण गर्ने , राजाको हातबाट सम्पूर्ण शक्ति खोस्ने , राजा जेम्स द्वितीयको पतन पछि विलियमलाई सत्तामा पुर्याउने जुन क्रमबेलले त्यस क्रान्तिको नेतृत्व गरेका थिए , त्यसैबाट संसदीय व्यवस्थाको शुरुवात भएको थियो । विश्को राजनीतिक इतिहासमा सन १६८८ मा बेलायतमा जुन गौरवमय क्रान्ति सम्पन्न भएको थियो , त्यसकै परिणामस्वरूप विश्वमा पहिलो पटक संसदीय व्यवस्थाको स्थापना भएको थियो । पछि अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सिसि राज्य क्रान्तिले सुव्यवस्थित रुप दिएको थियो ।
यश प्रकारको शासन प्रणालीलाई पार्लियमेन्ट ( व्यवस्थापिका सभा वा मन्त्रीमणडलवाद पनि भनिन्छ । पार्लियमेन्ट सभालाई संसद भनिन्छ । यो शब्द बेलायती व्यवस्थापिकाबाट आएको हो । मूलत: यसलाई मन्त्रीमण्डलवाद भनिन्छ ।
संसदीय व्यवस्थाको दार्शनिक आधार “ बहुलवाद “ हो । यश व्यवस्थामा बहुमतको सरकार अल्पमतको प्रतिपक्ष रहने संम्वैधानिक व्यवस्था गरिएको हुन्छ र “ बहुमतको सरकार , अल्पमतको प्रतिपक्ष , कानुनी शासन , मानवोधिकार जस्ता गुलिया नाराहरु दिने गरिएको छ ।
माथि पनि उल्लेख गरिएको छ , सामन्तवादका विरुद्ध संघर्षको क्रममा संसदीय व्यवस्थाको जन्म भएको हो । इङ्गल्याण्ड र फ्रान्सका पुँजीपतिहरुले स्वतन्त्रता , समानता र भातृत्वको नारा लगाउँदै अगाडि बढेर यिनै नारालाई केन्द्रविन्दु बनाई पश्चिमी युरोपका कैयौं देशहरूमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका थिए ।
त्यो बेला पुँजीपतिवर्ग प्रगतिशील वर्ग थियो र त्यसले अगाडि सारेको राजनीति अर्थात् संसदीय व्यवस्था पनि प्,गतिशील थियो तर आज त्यो युग र त्यो परिस्थिति समाप्त भइसकेको छ र त्यसै गरि आज पुँजीपति वर्ग र उसको व्यवस्था संसदीय प्रजातन्त्रको प्रगतिशीलता पनि समाप्त भएर एकाधिकारी पुँजीवाद अर्थात् लेनिनको भाषामा मरणासन्न पुँजीवादमा पुगेर साम्राज्यवादमा पतन हुन पुगेको छ ।
नेपाली जनताका राष्ट्रियता , जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको समाधान कसरी हुन सक्छ ? त्यसका लागि संसदीय व्यवस्था उपयुक्त व्यवस्था हो अथवा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद ? आज वर्तमान नेपाली राजनीतिको बहसको मुख्य विषय यही कनेको छ ।
आज कुन पार्टी जनताको पक्षमा काम गर्ने पार्टी हो र कुन होइन , यो कुरा छुट्यायनका लागि कुन व्यवस्थावाट जनताका आधारभूत समस्या हल हुन सक्छन् र कुनबाट सक्तैनन् ? यो कुरा स्पष्ट हुन जरुरी छ र त्यसैका आधारमा राजनीतिक पार्टीहरुलाई चिन्न र बुझ्न सजिलो हुन्छ ।
पुँजीवाद मध्ययुगीनताका तुलनामा प्रगतिशील भए पनि जब पुँजीवादको विकासका साथसाथै सर्वहारा वर्गको पनि विकास भएर गयो , जब पुँजीपतिवर्ग सर्वहारा वर्गको पनि विकास भएर गयो , जब त्यसले आफ्नो हकहितका लागि लड्दै पेरिस कम्युनका सर्वहाराहरुमाथि पाशविकर क्रुर आक्रमण गर्यो , जब पुँजीवाद साम्राज्यवादमा विकसित भयो र त्यसले आफ्नो देशका श्रमजीवी वर्ग मात्र होइन , अविकसित देशका जनताको शोषणका लागि पुँजी निर्यात एवं खुला सैनिक आक्रमण र हस्तक्षेप समेत गर्न पुग्यो , त्यो बेला देखि पुँजी रवादको अर्थ युध्दपिपासु साम्राज्यवाद बन्न पुग्यो ।
त्यस पछि स्वतन्त्रता , समानता र भातृत्वको नाराका विरुद्ध खडा हुन पुग्यो । त्यसले मुखमा प्रजातन्त्रको र हातमा बन्दुकको सहारा लिएर जनतामाथि अधिनायकवाद चलाउन पुग्यो । यसै व्यवस्थाको गर्भबाट हिटलर , मुसोलिनी , च्याङकाइसेकहरुको जन्म हुन पुग्यो र त्यसै क्रममा नरसंहारकारी प्रथम र द्वितीय विश्वयुध्दका घटनाहरु घट्न पुगे ।
संसदीय व्यवस्था पुँजीपति वर्गले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिल्यै नथाक्ने तर “ मुखमा राम राम बगलीमा छुरा “ भने झैं एउटा हातमा प्रजातन, मानवअधिकार , लोकतन्त्रका नारा बोकेर हिड्ने र अर्को हातमा बन्दुक बोकेर नरसंहार गर्दै हिड्ने व्यवस्था हो ।
साथै यसै क्रममा पुँजीवाद र संसदीय व्यवस्थाको विरोधमा , सम्पूर्ण शोषण र अन्याय अत्याचारको विरोधमा सर्वहारा जनवाद र वर्गमुक्तिको नारा घन्काउदै मानवजातिको इतिहासमा सबैभन्दा क्रान्तिकारी र सबैभन्दा प्रगतिवादी वर्गका रुपमा सर्वहारा वर्ग उदायो । विश्वमा सर्वहारा वर्ग नयाँ युग र नयाँ क्रान्तिको नायक बनेर जन्मियो । यश वर्गको मुक्तिको मार्गनिर्देशन गर्नका लागि कार्ल माक्र्स ( १८१८–१८८३ ) र फ्रेडरिक एंगेल्स ( २८२०–१८९५) द्वारा माक्र्सवादको प्रादूर्भाव भयो । त्यस पछि विश्व सर्वहारा वर्ग आफ्नो मुक्तिको सैध्दान्तिक हतियार माक्र्सवाद र माक्र्सवादी दर्शनले लैस हुन पुग्यो।
त्यस पछि रुसमा सन १९१७ मा सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा महान् महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसै क्रममा पूर्वी युरोपका २० आौ देशहरूमा सोभियत मोडेलको समाजवाद लागु गरियो । त्यस पछि भियतनाम , कोरिया हुँदै सन १९४९ मा चीनमा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न हुनुका साथै त्यसैबेला विश्वका कैयौं उत्पीडित देशहरूमा सर्वहारा वर्गको नेतृत्व र जनताको संयुक्त अधिनायकत्वमा नयाँ जनवाद क्रान्ति सम्पन्न भएर समाजवादी क्रान्तिको बाटोमा अगाडि बढे ।
यी सबै ऐतिहासिक घटनाक्रमबाट विश्वमा संसदीय व्यवस्था पुरानो र कालातित बस्तु बन्न गयो र आज साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद मात्र क्रान्तिकारी र आम जनसमुदायको सच्चा व्यवस्था प्रमाणित हुन पुग्यो ।
संसदीय व्यवस्थाका बारेमा निकै भ्रम छ । आज हाम्रो देश नेपालमा पनि सढेगलेको पुरानो संसदीय व्यवस्था चलिरहेको छ। साथै आज हाम्रो देशमा त झनै प्रजातन्त्र भन्ने बित्तिकै यो सबै वर्गका लागि साझा व्यवस्था हो भन्ने ठूलो भ्रम छ । नेपालका संसदीयहरुले संसदीय व्यवस्था संसार कै उत्तम व्यवस्था हो भनिरहेका छन् ।
संसदीय व्यवस्था कस्तो हो भने पहिलो उदाहरण पेरिस कम्युनमाथि गरिएको भीषण दमन र नरसंहारले उद्घाटन गरिदियो । नेपाल मै पनि विभिन्न समय र कालखण्डमा सञ्चालन गरिएका जनआन्दोलन , जनसंघर्ष , वर्गसंघर्ष र महान् दस वर्षे जनयुद्धको प्रक्रियामा तथाकथित संसदीय व्यवस्थाले हजारौं , लाखौं नेपाली जनतामाथि गरिएको नरसंहारलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
अर्को शब्दमा संसदीय भनेको ढाँट , सिल्ली , जाली – झेली र जनता र राष्ट्रका षड्यन्त्रकारीहरुको जनविरोधी र राष्ट्रघातिहरुको व्यवस्था हो ।
साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले संसदीय व्यवस्थालाई “ बुर्जुवाहरुको गफ गर्ने थलो “ हो भनेर परिभाषित गर्नु भएको छ । साँच्चिकै माक्र्सले भने झै आज संसदीय व्यवस्था बुर्जुवा प्रतिक्रियावादीहरुको गफ गर्ने थलो बनिरहेको छ र जनतालाई झुक्याएर , छक्याएर , ढाँटेर वा जनताका बीचमा गुलिया नारा दिएर झुक्याएर भोट मागेर सत्तामा पुगेर जनताको विरुद्धमा शासन चलाउने व्यवस्था प्रमाणित हुन पुगेको छ ।
सर्वहारा वर्गका महान् नेता लेनिनले संसदीय व्यवस्थाका बारेमा अगाडि भन्नू हुन्छ , – “ अमेरिकाादेखि स्वीजरल्याण्डसम्म , फ्रान्सदेख इङ्गल्याण्ड , नर्वे आदि सम्म चाहे कुनै संसदीय देशलाई लिनुहोस् , राज्यका असली काम गर्दाको आडमा फत्ते गरिन्छन् र त्यो काम दफ्तर र फौजी सदरमुकाममा पर्दछ । संसदलाई आम जनतालाई बेबकुफ बनाउने उद्श्येले बक्वास गर्नका लागि जिम्मा लिइन्छ ।“ आज लेनिनले भने जस्तै इतिहासमा के कुरा प्रमाणित गरिसकेको छ भने संसदीय व्यवस्था जनतालाई बेबकुफ व्यवस्था बाहेक अरु केही पनि होइन ।
उदाहरणको रुपमा लेनिनले भन्नु भए झै नेपालका संसदीयहरु र संसदीय व्यवस्थाले नेपाली जनतालाई बेबकुफ तुल्याउँदै आएका छन् ।
त्यस्तै संसदीय व्यवस्थाका बारेमा विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङले “ संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो “ भन्नुभएको छ । साँँच्चिचकै आज कमरेड माओकै शब्दमा नेपालका संसदीय पार्टी र तिनका नेताहरु र सिंगो संसदीय व्यवस्थाले “ सिंहदरबारमा खसीको टाउको झुन्ड्याएर नेपाली जनतालाई कुकुरको कुहिएको मासु बेचिरहेका छन् । र , जनतालाई बेबकुफ तुल्याइरहेका कुरा दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । आज विश्वभर सञ्चालन गरिरहेका पुँजीपतिहरु र साम्राज्यवादीहरुले नेपालमा जस्तै विश्व जनतालाई खसीको टाउको देखाएर कुकुरको कुहिएको मासु बेचेर बेबकुफ बनाइरहेका छन् ।
आज नेपालमा दक्षिणपन्थी संशोधनवादको बाटो हुदै प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी विजातीय कित्तामा सामेल भएर प्रतिक्रियावादी सरकार सञ्चालन गर्दै आएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) र आजको नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जस्ता नामधारी तथा नक्कली कम्युनिस्टहरुले आज “ जनवादी क्रान्ति सम्पन्न भइसक्यो , राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो , अब आर्थिक क्रान्ति गर्ने हो “ भनेर जनताका बीचमा भ्रम छरिरहेका छन् ।
नेपाल अहिलेसम्म पनि अर्ध सामन्ती र नवआौपनिबेशिक अवस्थामा रहेको छ । आज नेपालमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हो र महन् नेपाल नयाँ जनवादी क्रान्तिले मात्र वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय गर्ने छ ।
अन्त्यमा आज नेपालमा संसदीय व्यवस्थाको आौचित्य समाप्त भइसकेकोले अब जनताको संघीय जनगणतन्त्रको स्थापना अपरिहार्यता आवश्यकता बन्न पुगेको छ । अर्थात् संसदीय व्यवस्थालाई ध्वंस गरेर जनताको संघीय जनगणतन्त्रात्मक नयाँ राज्यव्यवस्थाको स्थापनाको विकल्प छैन । र विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ । यो भीषण वर्गसंघर्षको बलबाट मात्र यसको प्राप्ति संभव छ । र , महान् नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका लागि नेपालका सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एकीकृत भएर बृहत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न अनिवार्य छ । वर्गसंघर्ष नै यसको मुख्य आधार हो । यो भन्द अर्को कुनै विकल्प छैन ।
( लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।moolbato.com/from

प्रतिकृया दिनुहोस्