१२ साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ÷ झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सील गरिने भएको छ । नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफरिस गरेको थियो । समितिको सिफारिसका आधारमा मंगलबार मध्यान्ह बसेको कार्यपालिका वैठकले साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गनृे निर्णय गरेको निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।
निमित्त प्रमुख उप्रेतीका अनुसार बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, बारुणयन्त्र,सेवाबाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन,विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दुध अण्डा, फलफूल तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहनेछन् ।
मेचीनगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले सञ्चालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न गराउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाट बजार, मेला, जात्रा, महोत्सव पार्टी भोजलगायत भीडभाडमा हुने सवै खाले कार्य गर्न नगराउन सवैमा आग्रह गरिएको छ ।
कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तै प्कारको कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजीकैको स्वास्थ्य संस्था वा नगरको आइसोलेशन सेन्टरमा सम्पर्क गर्न, कोभिड १९ विरुद्घको खोप सेवा सञ्चालनार्थ तोकिएका उमेर समुहका अशक्त सेवाग्राहीहरुले सवारी साधन प्रयोग गरी खोपकेन्द्र सम्म जानु परेमा उमेर खुल्ने कागजात र तोकिएका अन्य समुहका व्यक्ति वा फ्रन्टलाइन कर्मचारीको हकमा परिचय पत्र साथै बोकीमा आवतजावत गर्न, कक्षा ११ को पूर्वानिर्धारीत परीक्षा कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दुरी कायम गरी सञ्चालन गर्न, होटल, वैंक तथा सवैखाले वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द गर्न गराउने, उद्योग कलकारखाना सञ्चालन सम्बन्धमा आवश्यक जनशक्तिहरुलाई उद्योग परिसर भित्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने गराउने समेतको निर्णय कार्यपालिकाको बैठकले गरेको प्रेस संयोजक उप्रेतीले चौतारी पोष्ट अनलाइनलाई बताए ।



