
१५साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । दुई वर्षदेखि आफन्तसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ ।
विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई करिब दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको हो ।
समाजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उद्धार गरी ल्याइएका बालकहरुलाई सार्वजनिक गरेको हो ।
२०७६ साल मंसिर २८ गते शनिबारदेखि अभिभावकको सम्पर्क विहीन अवस्थामा रहेका मेचीनगरका चार जना तथा दमकका एक जना बालकको उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उद्धार गरिएका बालकहरुमा मेचीनगर – १ गाडागल्लिका १६ वर्षीय अनिस विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल रहेका छन् ।
त्यस्तै अर्का बालकमा दमकका १४ वर्षीय खेम राजवंशी रहेका छन् । उनीहरुलाई शुक्रबारनै अभिभावकहरुको जिम्मा लगाइएको छ ।
भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले त्यहाँ रहेको बालगृहमा रहेका बालकहरुको उद्धार गरेको संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार महावाणिज्य दूतावासका राजदुत शतिसकुमार थापाको सहयोगमा बालकहरुको उद्धार गरिएको हो ।
उद्धार गरी ल्याइएका बालकहरुले आफुहरु घुम्नका लागि भारत गएका बेला आफुहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बंगालस्थित जलपाईगुडी जिल्लाको एक बाल गृहमा लगिएको बताए ।



