विचार

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो

दयामराम पण्डित
यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि कांग्रेसले भरपूर प्रयोग गरिसकेको छ ।

कांग्रेसले विधिको शासन अख्तियार गर्छ तर आफूू विधि र परिधिभित्र रहन्न भन्नेहरुले अड्कल काट्न थालिसकेका थिए । भदौको तेस्रो सातादेखि समग्र कांगे्रसजनका लागि वैधानिकताको प्रश्नचिह्न खडा हुँदै थियो । ढिलै भए पनि नेपाली कांग्रेस भाद्र १८ गतेदेखि १४ औं माहधिवेशनको मैदानमा उत्रेको छ ।

स्खलित कांग्रेस पार्टीलाई एकपटक पुनः नेपाली नागरिकका सामुु लोकसम्मत पद्धतिप्रति यो महासंग्रामले आफ्नो प्रतिबद्धता देखाएको छ । गाउँ–बस्तीबाट कांग्रेस जुुुर्मुराएको आभास हुन्छ । जताततै कांग्रेस महासंग्रामको चर्चा, परिचर्चा सुनिन्छ । कांग्रेस नेतृत्वले विधानले दिएको अधिकार प्रयोग गरेको छ । गाउँबाट कांग्रेसको जग बलियो बनाएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा जुन लोकतान्त्रिक विधिको पलाना, आचारण र व्यवहार देशभरका गाउँ–बस्तीबाट देखाएको छ, यो अरु राजनीतिक दलका लागि पनि अनुसरणयोग्य छ । अझ युवाको सक्रिय सहभागिता र नेतृत्व, त्यो पनि सर्वसम्मत भएका खबर प्राप्त भएका छन् । यसले अब देश युवाको काँधमा आएको बुुझ्न सकिन्छ । यसका लागि कांग्रेस नेतृत्वलाई साधुवाद ! गाउँदेखिको आन्तरिक स्वच्छ प्रतिस्पर्धाले बाह्य प्रतिस्पर्धा गर्न सहजता हुन्छ । आन्तरिक लोकतन्त्रका पिलर बलिया हुन्छन् ।

३५ जिल्लाका वडा तहमा तोकिएकै समय भदौ १८ गते निर्वाचन भई मत परिणाम पनि आइसकेको छ । गाउँको प्रारम्भिक मतले सर्वसम्मत नेतृत्व चयनको परिणमा दिँदा कांग्रेसजनहरु उत्साहित छन् । क्रियाशील सदस्यको नामावली प्रकाशन भएका ५६ जिल्लाको निर्वाचन परिणाम सातादिनमा आऊला । आशा गरौं, बाँकी २१ जिल्लाका क्रियाशील सदस्यता यही भदौ अन्तिम सातासम्म टुुंगो लाग्नेछ ।
तथापि क्रियाशील सदस्यलार्ई भोट बैंकको रुपमा प्रयोग गरिनुहुन्न । कस्तो नेता छान्ने भन्ने अधिकार क्रियाशीलको हातमा छ । झन्डै ९ लाख क्रियाशील सदस्य रहेको कांगे्रस पार्टी देशको कुल जनसंख्याको ३ दशमलव ३ प्रतिशत जनसंख्या हो । सामान्यतया कांगे्रसका यी क्रियाशील सदस्यले प्रत्यक्ष राजनीति गर्ने हैसियत राख्ने जनसंख्या हो । यिनीहरुबाट चुनिएर आएका नेताहरुले पार्टी चलाउँछन् र जनमत प्राप्त गर्न सके तिनै नेताले देश चलाउँछन् ।

खासमा नेपालको राजनीतिक पेरिफेरिमा दशकअगाडि दुुई कुरा खड्किन्थे । एक परम्परावादी सोचमा आधारित राजनीति, जो आफ्नो पुस्तैनी बिँडो थाम्नकै लागि हर्कत गरिरहन्थे । अर्को क्रान्तिकारी विचारको प्रदर्शन, जो परम्परावादलाई परास्त गर्दै नयाँ युगिनमा प्रवेश गर्न चाहन्थे । तसर्थ यिनी दुुईका बीच लामो द्वन्द चल्यो । अन्ततः राजनीतिक द्वन्द्वले समाज रुपान्तरण गरी छोड्यो । परिवर्तन जो–कोहीले चाहन्छन् । पुरानो राजतन्त्र, कुलीन तन्त्रविरुद्धको आन्दोलन थियो । जो नेपाली जनताले २०६२/०६३ को आन्दोलनपछि राजसंस्था विस्थापित गरिसकेका छन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत भैसक्यो । मलाई लाग्छ, नेपालमा राजनीतिक परिवर्तनको एजेन्डा अहिलेका नेपाली नागरिकको एजेन्डा हुँदै होइन । संसारको सबभन्दा सुप्रिम व्यवस्था लोकतन्त्र अझ नेपालमा त लोकतान्त्रिक गणतन्त्र ल्याइसकेका छौं ।

यो एजेन्डा क्लोज भइसक्यो । अबको एजेन्डा लोकतन्त्र र संविधानको रक्षा गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक समृद्धि हुन्। ‘संसारमा एजेन्डाविहीन कुनै क्रान्ति सफल भएका छैनन् । जसले समग्र समाज रुपान्तरणका एजेन्डा बोक्छ, त्यो नै सफल हुन्छ र सृजनशील समाजमा स्थापित गर्छ । हाम्रो समाज राजनीतिक रुपान्तरणको दिशामा हैन, समाज रुपान्तरणको दिशा उन्मुख छ ।

समाज रुपान्तरणको उदाहरण मार्टिन लुुथर किङको एजेन्डालाई लिन सकिन्छ । जसले नागरिक अधिकारको रक्षाको निम्ति अफ्रिकी–अमेरिकी निग्राको सामाजिक एजेन्डा बोकेर नेतृत्व सम्हाले । अमेरिकामा १ जनवरी १८६३ मा दासप्रथाको औपचारिक अन्त्य भयो तर त्यसको एक शताब्दीसम्म पनि काला जातिहरूप्रति विभेदकारी नीतिहरू विद्यमान थिए ।

त्यहाँ काला जातिका विद्यार्थी पढ्ने स्कुल अलग हुन्थ्यो । बसको अगाडिका कम्तीमा पनि १० सिट गोराहरूको लागि आरक्षित हुन्थ्यो । काला जातिहरू बसको पछाडिको ढोकाबाट र गोराहरू अगाडिको ढोकाबाट छिर्नुपर्ने अनि गोराहरू बसमा पस्दा सिट नभएमा कालाहरूले सिट छोडिदिनुपर्ने कुसंस्कार थियो । त्यहाँका काला जातिले ३८१ दिन बस बहिष्कार गरे । अन्त्यमा अमेरिकी अदालतले बसमा काला र गोरा जातिलाई अलग सिट राखिने प्रावधानलाई असंवैधानिक ठहर गर्‍यो ।

मार्टिन लुथर किङ अमेरिकी इतिहासले लादेको अन्यायविरुद्ध लड्ने ऐतिहासिक पात्र तथा काला जातिका नक्षत्र बने, जसले अफ्रिकन–अमेरिकनमाथि हुने गरेको सामाजिक अन्याय, विभेद र अत्याचारका विरुद्ध अहिंसात्मक आन्दोलन गरे । उनले नागरिक अगुवाको रूपमा काम गरे । समाज रुपान्तरणका लागि अमेरिकी नागरिक मानव अधिकारीवादी नेता मार्टिन लुुथर किङझैँ हामी पनि नागरिक एजेन्डा सेटिङ गर्न सक्छौं ? के मार्टिन लुथरले अमेरिकालाई जातीय विभेद अन्त्य गराउन गोरालाई गाली र हिंसाको माध्यम अपनाएर जीत हात पारेका हुन् त ? हैन, माया, प्रेम र सद्भावकै कारण उनले समाज परिवर्तन गरे । हामी अर्काको विरोध मात्र गर्छौं तर आफूचाहिँ के गर्छौं, थाहा छैन ।

त्यस्तै हामी बीपीवाद मान्छौं । बीपीका आफ्ना उत्कृष्ट भनाइलाई हामीले आत्मसात् गर्न सकेका छौं त ? उहाँले भन्नुभएको छ, ‘कुनै वर्ग वा सम्प्रदायसित हाम्रो शत्रुता कदापि छैन । नेपालमा बस्ने वा उनीहरुसित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । सम्पूर्ण देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष्य हो । यसकारण कुनै वर्ग विशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन । हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयमा नै हामी प्रयत्नशील रहेका छौं ।’

त्यस्तै भारत देशका ‘महान् पिता’ अहिंसाका पूजारी महात्मा गान्धीजस्तै समाज रुपान्तरणका लागि सादगी जीवन यापन गर्न हामी तत्पर छौं त ? उदाहरणका लागि हिन्दीमा लेखिएको सानो स्मरण यहाँ उल्लेख गरिन्छ, जुन ‘महात्मा गान्धी मुक्त ज्ञानकोष’ बाट लिइएको हो– ‘गाँधी जी का मानना था कि अगर एक व्यक्ति समाज सेवा में कार्यरत है तो उसे साधारण जीवन (सिम्पल लाइफ) की ओर ही बढ़ना चाहिए जिसे वे ब्रह्मचर्य के लिए आवश्यक मानते थे । उनकी सादगी (सिम्प्लिसिटी) ने पश्चिमी जीवन शैली को त्यागने पर मजबूर करने लगा और वे दक्षिण अफ्रिका में फैलने लगे थे इसे वे ‘खुद को शून्य के स्थिति में लाना’ कहते हैं, जिसमे अनावश्यक खर्च, साधारण जीवन शैली को अपना और अपने वस्त्र स्वयं धोना आवश्यक है । छढेएक अवसर पर जन्मदार की और से सम्मुदय के लिए उनकी अनवरत सेवा के लिए प्रदान किए गए उपहार को भी वापस कर देते हैं ।’

सारमा गान्धीझैँ नागरिक स्वतन्त्रताका लागि के हाम्रा गान्धीवादी नेता उदार छन् ? के हामी विदेशी कपडा पत्यिाग गरी स्वदेशी कपडामा रमाउन सक्छौं ? सादा दाल–भात, रोटी–तरकारी खाएर बस्न सक्छौं ? आफ्नै चर्खा घरबुनाको प्रयोग गर्न सक्छौं ? अनावश्यक खर्च नियन्त्रण गर्न सक्छौं ? हो, समाज रुपान्तरणका लागि गान्धीको जस्तो सादगी जीवन हामीमा हुन आवश्यक छ ।

प्रजातन्त्रका पिता भनेर चिनिने अब्राहम लिंकन भन्नुहुन्छ, ‘म राम्रो गर्छुु, त्यो मलाई राम्रो लाग्छ अनि सन्तुुष्टि महसुस हुन्छ । वा म नराम्रो गर्छु त अनि मलाई नरामै्र महसुस हुन्छ । यही मेरो धर्म हो ।’ सारमा हाम्रा नेताले गरेको गल्ती, कमजोरी कहिल्यै महसुस गर्नुभएको छ ? समाज रुपान्तरणका लागि प्रतिनिधि पात्र हैन कुशल नेता बन्ने चेष्टा हाम्रा नेताले गर्नुुपर्छ ।

लोकतन्त्र र संविधानको संरक्षण अनि मानवअधिकारको रक्षा गर्न र समाज परिवर्तन गर्न गुट–उपगुुट बनाएर सम्भव छैन । यसले विनाश र विध्वंशतिर धकेल्छ । सामाजिक सञ्जाल र भाषणमा गाली गरेर पनि सम्भव छैन । सम्भव छ त केवल नेपाली जनताको आर्थिक, सामाजिक समृद्धिको एजेन्डा कसले बोक्न सक्छ ? तिनै नेताको सम्भावना छ ।

कतिपय नेता राज्यका तीनवटै तहमा जनप्रतिनिधिका रुपमा छन् । तिनीहरुले जनहित र लोकतन्त्रको पक्षमा कति काम गरेका छन् ? यिनको पनि पार्टीले मूल्यांकन गर्नुपर्छ । मूल्यांकनका आधारमा नेता चुन्ने/नचुन्ने ती क्रियाशील सदस्यको हातमा छ । यसलाई कांग्रेस नेतृत्व पहिचान गर्न सक्ने अवसरका रुपमा लिन सकिन्छ । समग्रमा विपक्षलाई गाली गरेर हैन, स्नेहले युद्ध जित्न सक्नुपर्छ । त्यो अभ्यासमा कांग्रेस नेताले जानुपर्छ अनि कांग्रेस बलियो हुन्छ । कांग्रेस बलियो भए मात्र लोकतन्त्र र संविधान बलियो हुन्छ ।newsonepal/from,२४ भाद्र २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button