कात्तिक १०, २०७८
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३४ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।
शोएब मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र ड्र्याल मिचेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई १७ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि न्युजिल्यान्डका कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । गुप्टिल बोल्ड हुनुअघि २० बलमा ३ चौका प्रहार गरे ।
स्पिनर ईमाद वासिमले नवौं ओभरको दोस्रो बलमा ड्र्याल मिचेललाई फखार जमानबाट २७ रनमा क्याच गराए । मिचेलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा मोहम्मद अफिजले जमानबाट जेम्स निशम १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो ।
१४ औं ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लोक्रमका ग्लेन फिलिप्स १३, टिम सिफर्ट ८ र मिचेल सान्टनर ४ रनमा आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ । सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्यान्डले आइतबार भारतसँग खेल्नेछ । भारत र न्युजिल्यान्डबीचको खेल दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ। १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ ।hamrokhelkud/from



