‘समाचार र विचारको
साझा चौतारी’




आदर्शको राजनीति अब ‘सम्झिने पानी छम्किने !’


पेशल आचार्य
राजनीतिक विश्लेषक केशव भट्टराई आफ्नो शालीन स्टाटसमा लेख्छन्– ‘सरकारले असत्य बोल्न सक्छ तर संसद्, अदालत, शिक्षक, पत्रकार र डाक्टरलाई असत्य बोल्ने अधिकार हुन्न । तिनीहरू झुट बोल्न थाले भने त्यो राज्य, राष्ट्र र समाजको मृत्यु भैसक्यो भनेर बुझ्नुपर्दछ ।’ तर दुःखको कुरा, हाम्रो देशमा भट्टराईजीले उल्लेख गरेमध्ये केही प्रतिशत डाक्टरबाहेक अरू सबै झुटकै खेती गरेर बाँचेका छन् । यसो भनेर सबै डाक्टरलाई शंकाको सुविधा उपलब्ध हुँदैन । पैसाकै लागि डाक्टरी गर्नेहरूको नेपालमा कुनै कमी छैन। उपचारकै सिलसिलामा कहिलेकाहीँ डाक्टरहरू कुटिएका खबरहरूले समेत अखबार र अनलाइनहरूमा राम्रो स्थान पाइरहेको देखिन्छ ।

खैर ! यो फरक खालको सन्दर्भ भयो । अहिले उठाउन खोजिएको कुरा आदर्शको रानजीति हो । जो अब नेपालमा शनैः शनैः स्यालको सिङ, गौलोचन, झारमौरो र सर्पको मणिझैँ अल्पिँदो अवस्थामा छ । भन्न खोजेको कुरा नेपाली राजनीतिमा वर्तमान समयमा जति पनि ‘वेट लेस इसुहरू’ देखिएका छन् तिनले राजनीतिलाई नै भद्दा बनाएर चित्रण गरिरहेका छन् ।

भनिन्छ– नेपाल समृद्धि र बर्बादीको मोडमा उभिएको छ । अहिलेको सिस्टम, अहिलेका नेताहरू, अहिलेको आरक्षण पद्धतिले प्रशासनका उपल्लो पदमा पुगेका प्रशासकहरू, पेसामा रहेर पनि पार्टी रजनीतिमा कन्दनी फुकालेर लागेका वकिल, मास्टर र प्राध्यापकहरूको हबिगत देख्दा यो देशप्रति जो–कोहीलाई दया लागेर आउँछ । दयाले थेग्ने भनेको भावनामा मात्र हो, जुन देश सञ्चालन गर्न रत्तिभर काम लाग्दैन ।

केही हप्ताअघि सम्पन्न भएको एमालेको पहिलो विधान अधिवेशन अनेक कुराहरूले गर्दा फन्डामय रह्यो । पानीका बोतलमा छापिएका ओली बा, पोल–पोलमा टाँगिएका ओली बा र साउथ हिन्दी मुभीजस्तो होर्डिङ बोर्डमा उभिएका ओली बा देख्दा सामान्य नागरिकहरू ‘एमाले पार्टीभन्दा ठूला ओली’ भन्ने अर्थ लगाउन पुगेछन् । रमाइलो कुरा त त्यस बेला भयो, जब समापन समारोहको भाषणमा ओलीकै कार्यकर्ताहरू सम्मेलन स्थलबाट ह्वारह्वार्ती बाहिर निस्किए । कार्यकर्ताहरू बाहिर निस्केर हलै खालि भई लाजमर्दो स्थिति हुन लागेपछि आयोजकले जबर्जस्ती ढोका बन्द गर्न लगाएर सहभागीहरूलाई हलमै थुन्नुपर्‍यो । सो दृश्यले एमालेमा कस्ता प्रवृत्तिका अराजक कार्यकर्ताहरूको समूह बढ्दै छ भन्ने पूर्वानुमान लगाउन सकिन्छ । सहभागीमध्ये एकजनाले मुखै फोरेर भन्न पनि भ्याइहालेछन्– ‘सबैतिर ओलीलाई छाप्ने क्रममा धन्न कामरेडहरूले ट्वाइलेट पेपरमा समेत ओली बाका तस्वीरहरू प्रकाशित गरेनछन्। नत्र आची गरेर आफ्ना प्रिय नेतालाई पुछ्दै फाल्दै गर्नुपर्दथ्यो ।’ यसमा हल्का रोष र बढी व्यङ्गको भाव मिश्रित रहेको पाइन्छ ।

मुलुकमा अहिले क्रियाशील सबै पार्टीहरूमा चुल्ठे, मुन्द्रे, तिघ्रे र पाखुरेहरूको प्रवेश आक्रामकरुपले दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ । आदर्श र निष्ठाको राजनीति अब सबै पार्टीहरूमा ‘सम्झिने पानी छम्किने’ गीतझैँ बनेको छ । यतिखेर कुनै पार्टीमा आदर्शको लडाइँ गर्ने सात्विक भावभङ्गी भएका नेताहरू छैनन् । जब देश, काल र परिस्थिति नै यस्तो हुन्छ, हामीले परिणाम राम्रो खोजेर मात्र हात लाग्दैन । भनाइ नै छ– ‘कागती रोपेर हामीले अम्बाको फल प्राप्त गर्न सक्दैनौँ ।’ तर अहिलेको नेपालमा भैरहेकोचाहिँ त्यही छ । परिश्रम मात्र जनताको खेर गैरहेको छ, चारैतिर निराशा सिवाय केही हात लाग्ने गुन्जायस देखिन्न ।

आजभन्दा २ हजार ४ सय वर्षजति अघिका ग्रीक चिकित्सक हिपोक्रेटसले भनेका रहेछन्– ‘मानिसलाई लाग्ने रोग, व्याधी भनेको एक्कासि आकाशबाट खस्ने चट्याङ्जस्तो होइन, प्रकृतिविरुद्ध दिनहुँ मानिसले गर्ने स–साना अपराध अर्थात् पापहरू रोगका रूपमा मानव शरीरमा प्रवेश गर्दै जान्छन् र ती धेरै जम्मा भएपछि असाध्य रोग बनेर हामीलाई लडाउँछन् । उनले अर्को कुरासमेत भनेका रहेछन् । खाना औषधि हो र खाना नै रोग हो ! अझ हाम्रा वेदहरूले हिपोक्रेटसभन्दा पनि हजारौं वर्षअघि सूर्य, पृथ्वी, सबै वनस्पति, औषधि, प्राणीहरूलाई ईश्वरको स्वरूप मानेर पूजा गर्ने गरे । हामीले श्राद्धमा तर्पण गर्दा सूर्य, पृथ्वी, सबै वनस्पति, औषधि, देवता, मनुष्य, यक्ष, गन्दर्भ आदि प्रकृतिका सबै शक्तिहरूलाई तर्पण दिन्छौं ।’ अहिले हामीले यो परम्परामा लत्तो छाडिरहेका छौं अनि गतिलो परिणाम खोजेर कहाँबाट पाइन्छ त ?

राजनीतिक विश्लेषक तथा जसपा नेता डम्बर खतिवडा भन्छन्– ‘हिजैदेखि संवैधानिक नियुक्तिमा प्रधान न्यायाधीशलाई भाग दिइएको भन्ने थियो । हो, हैन अनुहार हेरेर मान्छे चिन्ने कुरा भएन । ओलीले दिएको बानी अहिले झन् यमान भएको हो कि क्या हो ? हुँदा–हुँदा मन्त्रीमा प्रधान न्यायाधीशको भाग भन्ने सुन्न थालियो । यस्तो पनि हुन्छ कतै लोकतन्त्रमा ? यसरी नै शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन लागू हुन्छ ? यदि यो कुरा सत्य हो भने हदै भयो । नेपाल राज्य भित्रभित्रै कुहिएको फर्सीजस्तो भइसक्या छ, बाहिर–बाहिर हामी देश बनाउने गफ लगाउँदै हिँड्न बाध्य छौं ।’

विरक्त भावमा उनी अझैँ भन्छन्– ‘लोकतन्त्र संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तभन्दा बाहिर जान मिल्दैन । यी सिद्धान्तभित्र मन्त्रिमण्डलमा प्रधान न्यायाधीशको भागवण्डा हुन सक्दैन । यदि यस्ता समाचार सत्य साबित भए पाँच दलीय शीर्ष नेतृत्वले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । लोकतन्त्रका मान्यता र सिद्धान्तमाथि खेलबाड गर्दा हिजो ज्ञानेन्द्र शाह र भर्खरै ओलीको पतन भएको दृष्टान्त सबैका आँखासामु छ । फेरि कसैले त्यही गल्ती दोहोर्‍याउँछ भने त्यो अर्को प्रतिगमन हुनेछ । लोकतन्त्रमाथिको अर्को घात हुनेछ । जनताले त्यस्तो खेलबाड सहन्छन् जस्तो लाग्दैन ।’

रमाइलो कुरा अहिले देशकै जेठो/बूढो पार्टी कांग्रेसको महाधिवेशनका लागि जिल्ला अधिवेशन हुँदै छ । बागमती प्रदेश, रामेछाप जिल्लाअन्तर्गत प्रदेश ‘क’ को प्रदेश कार्य समिति र प्रदेश प्रतिनिधिहरूको चुनावमा सहभागी हुन खिम्ती आएका एक नयाँ भोटर डेलिगेट्सले सबै मतपत्र पल्टाएर ‘यहाँ सूर्य चिह्न कहीँ पनि छैन’ दिक्दारी साथ भनेको कुरा अहिले रामेछापमा भाइरल भैरहेको छ । यो भनेको ती कांग्रेसका डेलिगेट्सलाई यो पार्टीको आन्तरिक निर्वाचन हो, इतर पार्टी निर्वाचन र अन्तर पार्टी निर्वाचन भन्नेसम्म कुरा पार्टीका कार्यकर्ताले नसिकाउने हो भने पार्टीले भविष्यमा कस्ता कार्यकर्ता र नेताहरू उत्पादन गर्न खोजेको हो ? त्यो देख्दा जोसुकै मानिस विरक्त हुन्छ ।

यो भयो नेपाली राजनीतिको ग्राउन्ड रियालिटी । यस्तै कार्यकर्ताहरूका जोडबलमा कांग्रेस, एमाले, माओवादी, जसपा र नेकपा एस गाउँ/नगर र शहर बजारमा आ–आफ्ना संगठनहरू अघि बढाउँदै राजनीति गरेको भ्रममा बाँचिरहेका छन् भन्दा कुनै अपराध गरेकोजस्तो हुँदैन । हुन त सबै अघि बढिरहेका छन् । मात्र कता अघि बढिरहेका छन् भन्ने कुरा मुख्य र अहम् हो ।

अब संवैधानिक अङ्गहरूको हबिगत र गति हेरौं । अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास कार्यालयले २ नं. प्रदेशको मुख्यमन्त्री कार्यालयमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा किनिएका साइकलबारे परेको उजुरीका आधारमा अप्रत्यासित छापा मारेको घटनालाई लिएर जनकपुरमा अख्तियारविरुद्ध जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले विरोध जुलुस निकाले । उनीहरूको भनाइ थियो– अख्तियारले मुख्यमन्त्री कार्यालयलाई थाहा नदिई किन छापा मा¥यो ?’ यस्ता लाजमर्दा कुरा पार्टीबाट उठेपछि त्यहाँका सचेत नागरिकहरू छक्क परे ।

‘अख्तियारको संवैधानिक, निष्पक्ष र प्रभावकारी कार्यवाही सर्वथा अपेक्षित र स्तुत्य छ तर त्यहाँ अहिले ओली अध्यादेशद्वारा असंवैधानिक नियुक्त नेतृत्व भएको, त्यस्ता नियुक्ति खारेज हुनुपर्ने जनस्तरको माग रहेको, यती, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रेस, जलहरीजस्ता दर्जनौं केस पेन्डिङ गराइएको, राजनीतिक पूर्वाग्रह साँध्ने सोच हाबी भएको हुनसक्ने पक्ष बिर्सन हुन्न ।’ खतिवडाको कटाक्ष रहेको छ ।

‘हो, कार्ल माक्र्सका दुई छोरी–लाउरा र इलिनियोर, एक ज्वाइँ लाफर्गेले आत्महत्या गरेका थिए । अझ लाउरा र लाफार्गेले त सामूहिक आत्महत्या गरे, पछि लेनिनले लाउरा दम्पतीको आत्महत्यालाई महान् भन्दै प्रशंसा गरेका थिए । तर यी घटना चन्द्रशेखर आजादसँग भने तुलनीय हैनन्, फरक खालका हुन्, निजी निराशामा आधारित । तर कमरेड प्रचण्ड आत्महत्याको प्रसङ्गलाई अहिले जसरी अतिरञ्जना गर्दै छन्, त्यसमा संगति छैन । माओवादी आन्दोलनको दुर्दशा स्वपतन हो, त्यो त्यसको प्राकृतिक सीमा हो, घेराबन्दी हैन । ओलीसँग मिलेर ‘आधा–आधा खाने’ सम्झौता पनि कहीँ घेराबन्दी हुन्छ ? अहिले त्यही ‘आधा–आधा खान नपाएको छट्पटी हो । ओलीले धोकेबाजी गरेकै हुन् तर त्यो सम्झौता पनि कुनै गतिलो थिएन ।’ खतिवडाको विश्लेषण रहेको छ ।

केही हप्ताअघिको प्रचण्डको रोइलो खान नपाएको झोक वा तिक्तता हो । नत्र उनले दुखिया कार्यकर्ता पन्साउँदै छोरी र बुहारीलाई लाभको पदमा पुर्‍याएकै थिए । गठबन्धनका नेताहरू कोही दूधले नुहाएका पवित्र छैनन् । त्यसैले अहिले प्रतिपक्ष ओली बा र सत्ताका पाँच बाहरूबाट सुशासन र अग्रगामी निकास हुन्छ भनेर ‘सम्झिने पानी छम्किने’ हो । अहिले चलेको लोकप्रिय गीतजस्तो । एमसीसीमा सरकारको धितधरान हेर्दा नै थाहा लाग्छ कि ऊ एनसेलको ६२ अर्ब करभन्दा एमसीसीको ५५ अर्ब सम्झौतामा र्‍याल चुहाइरहेको छ । यसबाटै पत्ता लाग्छ कि सत्तामा जो आए या गए पनि यी कसका लागि काम गर्ने रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ ।

एकातिर राजनीतिज्ञको यस्तो अवस्था देखिन्छ भने उनैहरूले यो वा त्यो दर्शनका इमोसनल ब्ल्याक मेलिङ गरेर हरेक चुनावमा जनता ढाँटेर प्राप्त गर्ने सत्ताले कमाउने अकूत धनराशिलाई जोहो गरेर देशबाहिर लगी ट्याक्स हेभेन मुलुकहरूमा बेपार गरेको भन्ने कुरा बाहिर आएका छन् । यसमा नेता र बेपारी सगोत्री भएर काम गरेका कुराहरूसमेत आउन बाँकी रहेका छैनन् । नेता र बेपारीको यस्तो अवैध मिलिभगतले देशको भविष्यको गन्तव्य कस्तो हुने भन्ने कुरा सन्देहका रुपमा प्रकट भएको छ । विधि, प्रक्रिया र सिद्धान्तमा नैष्ठिक भएका केही आदर्शवादी नेताहरू पनि तत्–तत् पार्टीहरूबाट क्रमशः किनारीकृत हुँदै जानुले देशको रानजीतिक भविष्यमा बेला–बेलामा ग्रहण लागेको रहेछ भनी जनताले बुझेका छन् ।newsofnepal/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्