खेलकुद

इटाली जितबाट वञ्चित

कात्तिक २७, २०७८

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो ।

रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा गोल फर्काए । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा लोरेन्जो इन्सिग्नेको क्रस इमिरीलाई डिफ्लेक्ट भएपनि गोलरक्षक यान सोमेरले उत्कृष्ट बचाउ गर्दा इटालीले अग्रता लिनबाट चुक्यो । ८५औं मिनेटमा फेडरिको चिइसाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

डोमिनिको बेरारडीलाई पेनाल्टी बक्समा युलिसेस गार्सियाले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इटालीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्होले गोल गर्न नसक्दा इटाली जितबाट वञ्चित बन्यो । उनको पेनाल्टी आकासिएको थियो ।

यो बराबरीपछि समूह ‘सी’ मा इटाली ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १५ अंक नै रहेपनि स्वीट्जरल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा छ । अब दुवै टोलीलाई विश्वकपमा सोझै छनोट हुन अन्तिम खेलमा जित निकाल्नुपर्ने हुन्छ ।

दुवै टोलीले बराबरी र पराजय भोगेको अवस्थामा भने गोल अन्तरमा इटाली विश्वकपमा छनोट हुनेछ । स्वीट्जरल्यान्डले प्ले अफ खेल्नुपर्ने हुन्छ । छनोटको अन्तिम खेलमा इटालीले नर्दन आयरल्यान्डसँग तथा स्वीट्जरल्यान्डले बुल्गेरियासँग खेल्दैछ ।

यही समुहको अर्काे खेलमा नर्दन आयरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ । बेनास सटकुसको आत्मघाती गोल नै नर्दन आयरल्यान्डको जितमा निर्णायक बन्यो ।हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button