खबर

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौं,मंसिर १८, २०७८
संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ।

सरकारले अध्यादेश ल्याएको भोलिपल्टै संसद् अधिवेशन बोलाएकाले यो अधिवेशनमा कानुन निर्माणको काम अघि बढ्ने अवस्था देखिँदैन।

एमसिसी सम्झौतालाई संसद्मा प्रवेश गराएर पारित गर्ने वातावरण बनाउन पनि अधिवेशन बोलाइएको अनुमान गरिएको छ। त्यस्तै सत्तारुढ गठबन्धनले बिहीबार प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएको र बिदामा बस्न नमाने उनीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा ल्याउन सक्ने अनुमान पनि गरिएको छ। तत्काल महाभियोगको विषय अघि बढेन भने पनि एमसिसीको विषयले भने प्राथमिकता पाउने अवस्था देखिएको धेरैको बुझाइ छ।

संसद्लाई बिजनेस दिने विषयमा सरकारले केही जनाएको छैन। गत भदौ २३ गते बोलाइएको संसद्को नवौं अधिवेशनबाटै एमसिसी पारित गर्ने उद्देश्य सरकारले राखेको थियो। तर त्यो अधिवेशनमा एमसिसीको काम अघि बढेन।

चालु आर्थिक वर्षको बजेट पारित गरेर सो अधिवेशन सकिएको थियो। भदौ २३ गतेदेखि कात्तिक ११ गतेसम्म चलेको उक्त अधिवेशन अन्त्य भएको झन्डै डेढ महिनापछि सुरु हुनेगरी हिउँदे अधिवेशन बोलाइएको हो।

नवौं अधिवेशन सुरु भएको भोलिपल्टै भदौ २४ गते एमसिसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएर राजनीतिक भेटघाट गरेको थियो। संसद्को नवौं अधिवेशन सुरु हुनुभन्दा पाँच दिनअघि भदौ १८ गते अर्थ मन्त्रालयले एमसिसी मुख्यालयलाई एमसिसीबारेमा स्पष्ट पार्न भन्दै विभिन्न प्रश्नसहित पत्राचार गरेको थियो। नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button