
मंसीर २१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेपछि नेपाली वामपन्थी आन्दोलन पतनतर्फ केन्द्रित भएको छ । नेकपा एमालेबाट अलग हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा समाजवादी गठन गरेपछि नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । यस्तो अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको अधिवेशन गरेर आफू सर्वसम्मत हुने प्रयास गरे । तर, अन्तिम समयसम्म पनि उनलाई सर्वसम्मत नेतृत्व दिन निवर्तमान उपाध्यक्ष डा. भीम रावल तयार भएनन् । उनले उम्मेद्वारी दिएर ओलीलाई पार्टी भित्र सर्वेसर्वा नभएको सन्देश जारी गरे । दश बुँदेबाट आएका नेताहरुले ओलीलाई केही असजिलो पारे पनि नेकपा एमालेको नेतृत्वमा ओलीकै अनुहार झल्कि आएको छ । ओलीले महाधिवेशनबाट पार्टी आफ्नो एकल कम्पनी जस्तै भएको सन्देश पनि दिएका छन् । ओलीले महाधिवेशनमा माधव समूहमा पहिले लागेका नेताभन्दा माओवादी छाडेर आएका नेतालाई काखमा राखेको कुरा पनि प्रष्टसँग प्यानल घोषणामा देखाएका छन् ।
चोलेन्द्र र रेग्मीको मतो :
पहिलेको कमिटीबाट ५८ जनाले यसअघि नै माधव नेपाल नेतृत्वको पार्टी रोजेका थिए । गत फागुन २३ गते सर्वोच्चबाट भएको विवादित फैसलाले नेपालको कम्युनिष्ट आन्दोलनलाई पतनतर्फ केन्द्रित गरेको थियो । कतिपयले अदालतको सेटिङमा सर्वोच्चले नेकपा विभाजन गरेको आरोप पनि लगाएका छन् । फैसला गर्ने न्यायाधीश कुमार रेग्मीका दाजुलाई ओलीले लोकसेवा आयोगको अध्यक्ष बनाएपछि यो फैसलाका विषयमा तमाम प्रश्नहरु उठेका थिए । यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको पनि संलग्न भएको बताइन्छ । विभिन्न विवादित फैसलामध्येको यो फैसला ओलीको अनुकूल आएको थियो । यही फैसलाका कारणले नेपालको राजनीतिमा ओली फेरि एक पटक उदाउने अवसर प्राप्त गरे । तर, उनले नेकपा एमालेको विभाजनलाई भने रोक्न सकेनन् । अहिले पनि पार्टी भित्र आफू विरोधीलाई तह लगाउने भन्दै उनले पेल्न थालेका छन् । केन्द्रीय कमिटी र पदाधिकारी घोषणा गर्दा १० बुँदे पक्षधरलाई उनले पेलेर अगाडि बढेका छन् ।
उनले नेकपा एमालेको विभाजनलाई भने रोक्न सकेनन् । अहिले पनि पार्टी भित्र आफू विरोधीलाई तह लगाउने भन्दै उनले पेल्न थालेका छन् । केन्द्रीय कमिटी र पदाधिकारी घोषणा गर्दा १० बुँदे पक्षधरलाई उनले पेलेर अगाडि बढेका छन् ।
एमालेमा विद्रोह र विभाजन :
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली सरकारको नेतृत्व गरेका ओलीले आफ्नै कार्यशैलीकाकारणले सत्ता छाड्नु प¥यो । सुरुवातमा दुई तिहाइको नेतृत्व गरेका ओलीले दुई तिहाई मात्र होइन, सामान्य बहुमतसमेत गुमाए । उनकै व्यवहारकाकारणले चारवटा मुख्यमन्त्री अर्थात, प्रदेश सरकार पनि गुमाए । पार्टी भित्रको अन्तरसंघर्ष व्यवस्थापन गर्ने कौसल नभएकाकारण २४ वर्षपछि एमाले फेरि विभाजन भयो । यो २०५४ साल पछिको ठूलो विभाजन मात्र होइन, ठूलो विद्रोह हो । ०५४ सालमा त महाकालीको विषयमा पार्टी विभाजन मात्र भएको थियो । तर यसपटक विद्रोहसहित विभाजन भएको थियो । त्यसो त ०६९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईसहितका नेताहरु विभाजनमा गएका थिए । यो विभाजनले ०७० सालको चुनावमा असर गरेको थियो । अहिले भने २०५४ सालकै विभाजन सरह भन्दा ठूलो विभाजन र राजनैतिक विद्रोह भएकाले एमालेलाई आउँदा चुनाव सजिलो नहुने अनुमान गरिएको छ । अहिले एमाले दुई टुक्रा मात्र नभएर विभिन्न समूहमा विभाजित छ । वैचारिक रुपमा पनि विभाजनको असर देखिएको छ । एमाले अब पार्टी नभएर दासहरुको झुण्ड अर्थात, ओलीले जे भन्यो त्यो कुरा स्वीकार गर्ने व्यक्तिहरुको समूह बनेको छ ।
मुर्दाशान्त : एमाले :
एमालेको विभाजनमा ओलीको कार्यशैलीलाई प्रमुख जिम्मेवारी ठान्नुपर्नेमा वामपन्थी विश्लेषकहरुले जोड दिएका छन् । नेतृत्वको अकर्मण्यताका कारण अहिलेको अवस्था आएको हो । ओली प्रधानमन्त्री बनेदेखि नै कम्युनिष्ट पार्टीको ओरालो यात्रा सुरु भएको थियो। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको यात्रा एमाले विभाजनसम्म पुग्यो । अहिले पनि एमाले भित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेकाले स्वार्थ समूहहरु सक्रिय छन् । विचारको भन्दा पनि नाफा र घाटा हेरेर एमालेको ओली समूहका नेताहरु सक्रिय बनिरहेका छन् । त्यसैले महाधिवेशनको नाममा गरिएको नेतृत्व घोषणाले कार्यकर्तामा उत्साह ल्याउन सकेको छैन । अहिले पनि पार्टीभित्र १० बुँदे पक्षधरहरुको असन्तुष्टि देखिनेगरी चलि नै रहेको छ । ओलीलाई नेतृत्वमा लैजान निर्णायक कदम उठाएका तत्कालीन उपाध्यक्ष बामदेव गौतमले गत माघ १४ गतेदेखि आफ्नै नेतृत्वमा अलग संगठन चलाइरहेका छन् । यस्तो अवस्थामा ओलीले आफ्नो कमजोरीलाई सुधार गर्नुको सट्टा विभाजनमा साथ दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई गाली गर्दै हिँडेका छन् । पार्टी बैठकमा बरु पार्टी एकताको कुरा गर्ने गौतमलाई लज्जाजनक ढंगले पार्टीबाट लखेटे ।
एमाले सीसाको घर :
लामो समयसम्म पार्टीमा सक्रिय नेता प्रदीप नेपालले पार्टी माक्र्सवादी बन्न नसकेकाले यस्तो अवस्था आइपुगेको बताए । ठूलो बलिदानबाट बनेको पार्टी सिध्याउनका लागि नेताहरु नै जिम्मेवार रहेको नेता नेपालको भनाई छ । एमालेमा अहिले देखिएको विभाजन र विवाद आफू हावी हुने र अर्कोलाई कमजोर पार्नेमै केन्द्रित देखिन्छ । माधव नेपालले ओलीलाई र अोलीले माधव नेपाललाई कमजोर पार्ने काम अहिले पनि गरिनै रहेका छन् ।
अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले ०५४ सालको विभाजनले पहिलो दल बन्नका लागि एमालेलाई २० वर्ष कुर्नु परेको स्मरण गर्छन् । एमालेमा अझै पनि पहिरो जाने अवस्था बनिरहेको छ । सिसाको घरझैं एमाले फेरि पनि फुटतर्फ केन्द्रित छ । ओलीको व्यवहार त्यसको मुख्य जिम्मेवार रहेको धेरै नेताहरुको ठम्याई छ । एमालेबाट माधव नेपाल बाहिर गएपनि राष्ट्रपति विद्यादेवी भण्डारी र ओली समूह एक अर्काप्रति टकरावको अवस्थामा पुगेका छन् । माओवादी छाडेर आएका नेताहरुको पनि मन अझै मिल्न सकेको छैन । एमालेमा जनवाद भन्दा पनि डनवाद मौलाएको छ । ओलीको कोटरीमा जनवाद भन्दा डनवाद मौलाएकाकारण नेपालको बामपन्थी आन्दोलन नै पतनको बाटोमा अगाडि बढेको छ । समयबद्ध साप्ताहिकबाट



