खबर

बेथितिसँग पार्टी चलाए सशक्त प्रतिकार : कोइराला

१ पुष २०७८
newsofnepal
रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई पराजित गरी सभापतिमा विजयी भएका नेता शेरबहादुर देउवालाई बधाई दिँदै अघिल्लो कार्यकाल जस्तै बेथितिका साथ पार्टी सञ्चालन गरे सशक्त प्रतिकार गर्ने बताउनुभएको छ। आफ्नो पराजयलाई सहर्ष स्वीकार गर्दै उहाँले देउवालाई आगामी चारवर्षे कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ ।

महाधिवेशनका मतदाताहरूलाई धन्यवाद दिन बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रमा बोल्दै डा. कोइरालाले भन्नुभयो– ‘यसअघि देउवाले साढे पाँच वर्षसम्म पार्टीलाई जसरी चलाउनुभएको थियो अब पनि त्यसै गरी चलाउन खोजे सशक्त प्रतिकार गर्छौं ।’ आफू आजैदेखि कांग्रेस रूपान्तरणको अभियानमा लाग्ने जानकारी दिँदै कोइरालाले भन्नुभयो– ‘मलगायत हाम्रा समूहका नेताहरू भोलिदेखि तपाईंको घरदैलोमा आउनेछौं ।’ उहाँले यो अघिवेशनमा पाएको माया र सम्मान कहिल्यै नभुल्ने जिकिर गर्दै आफ्नो राजनीतिक यात्रा फेरि एकपटक नयाँ ढंगले अघि बढाउने उद्घोष पनि गर्नुभयो ।

‘एकपटक यसैपटक’ भन्ने नाराका साथ पार्टी सभापतिमा उठेका कोइरालाको यो उद्घोषलाई १५औं महाधिवेशनमा नेतृत्व लिने तयारीका रूपमा हेरिएको छ । यो अधिवेशनमा अन्य सबै समूह एकातिर कोइराला समूह अर्कोतिर हुँदा पनि देउवाको २ हजार ७ सय ३३ र कोइरालाको १ हजार ८ सय ५५ मत आएको थियो । आफू पार्टीभित्र भागवण्डा गुटबन्दीमा नलाग्ने उद्घोष गर्दै कोइरालाले भन्नुभयो– ‘यो अधिवेशनले आफ्नो समूहको राजनीतिक मुद्दा स्थापित गर्नुका साथै युवा पुस्तालाई पार्टीभित्र अवसर नै अवसरको ढोका पनि खोलिदिएको छ ।’

कार्यक्रममा कोइराला समूहका नेता डा. मीनेन्द्र रिजालले पनि पार्टीभित्र व्यक्तिको भाग होइन, विचारको प्रतिनिधित्व खोज्ने बताउनुभयो । कार्यक्रममा कोइराला समूहका नेता चन्द्र भण्डारीले देउवा प्रधानमन्त्री नभएको भए यो अधिवेशनमा नतिजा उल्टन्थ्यो भन्दै सत्ताको दुरुपयोग भएको आरोप समेत लगाउनुभएको थियो । ‘देउवा प्रधानमन्त्री नभएको भए, मनी र मसलको प्रयोग नभएको भए कोइराला सभापति हुन्थे ।’ –उहाँको भनाइ थियो । कोइराला समूहका महामन्त्रीका उम्मेदवार गगन थापाले यो अधिवेशनमा नेतृत्व बदल्ने कुरा सबैभन्दा महत्वपूर्ण भए पनि असफल भएको भन्दै अब सहकार्य र संघर्षका साथ अघि बढ्ने बताउनुभएको थियो । ‘सभापति देउवाको राम्रो काममा सहकार्य हुन्छ, नराम्रो काममा संघर्ष हुन्छ’, थापाले भन्नुभयो– ‘अब सभापति देउवालाई गुटभन्दा माथि उठ्न बाध्य बनाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button