मूल खबर

नेताहरू नै मतदान गर्न जान्दैनन् !कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

६ पुष २०७८

रामकृष्ण चापागाईं
काठमाडौं ।

प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ। कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।

केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ। वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर । कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।

कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् ।

कांग्रेसको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केही केन्द्रीय सदस्यहरुको मतगणना सकिएको छ । केन्द्रीय सदस्य खुला ३५ जनामा १ हजार ७ सय ७ मत ल्याउने अन्तिम ३५ नम्बरमा विजयी भएका छन् । १ हजार ६ सय ५४ मत आउने विजयी हुन सकेनन् । १ सय ८१ मत बदर नभएको भए १ हजार ६ सय ४४ मत ल्याउने केदार कार्कीसम्मको सम्भावना रहने अनुमान गरिन्छ ।

अहिले पनि बाँकी केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उपसभापति पदको निर्वाचनमा कुल खसेको मत र बदर मतको हिसाब नै राखेको छैन । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अन्य पदको बदर मत उल्लेख गरे पनि उपसभापतिको बदर मत उल्लेख गरिएको छैन । उपसभापतिमा धनराज गुरुङले विजयकुमार गच्छदारलाई जम्मा २ मतले पराजित गर्नुभएको थियो । बदर नहुने गरी मतदान भएको थियो भने जित्नेले हार्ने र हार्नेले जित्ने सम्भावना रहन सक्छ ।

महामन्त्री पदमा ४३ मत बदर भएको छ भने सहमहामन्त्रीको आदिवासी/जनजाति कोटातर्फ ६५ मत बदर भएको छ । यस्तै, सहमहामन्त्रीको दलित कोटातर्फ ७५ मत बदर भएको छ । दलित कोटामा विजयी हुने जीवन परियारको २ हजार २ सय १२ मत आएको थियो भने उपविजेता मानबहादुर विश्वकर्माको २ हजार १ सय ७५ मत आएको छ । ३८ मतको फरक भएकाले ७५ मत बदर नभएको भए नतिजा उल्टन पनि सक्ने अनुमान गर्न सकिन्छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार सहमहामन्त्री पदमा महिला कोटातर्फ ४७, खस/आर्य कोटातर्फ ५६, मधेसी कोटातर्फ ७५, मुस्लिम कोटातर्फ ४८, पीछडिएको क्षेत्रतर्फ ५१ र थारू कोटातर्फ ५७ मत बदर भएको छ । प्रदेश–२ अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ ४६ र पीछडिएको क्षेत्र खुलातर्फ ३९ मत बदर भएको देखिएको छ । यी दुवै कोटामा एक सिटका लागि दुई–दुई जनाको मात्र प्रतिस्पर्धा थियो ।

हालै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । मतदानमा विद्युतीय उपकरणको प्रयोगले छिटो नतिजा निकाल्न सकिने र बदर मतलाई हटाउन सकिने भए पनि कांग्रेसले एक जनाले १९ वटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने गरी मतदान गराएको छ ।

कांग्रेस अधिवेशनमा देखिएको बदर मतले नेताहरु नै मतदान गर्न जान्दैनन् भन्ने सन्देश गएका बारे प्रतिक्रिया माग्दा महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा भन्नुहुन्छ– ‘मत गणना अझै जारी छ । सबै मतगणना सम्पन्न भएपछि हामी बदर मतका बारेमा समग्र समीक्षा गर्छौं ।’ २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको थियो भने स्थानीय तहको निर्वाचनमा ३ दशमलव १८ प्रतिशत मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button