मूल खबर

हामी फेरि सिंह बन्छौं : प्रचण्ड

११ पुष २०७८

न्युज अफ नेपाल
काठमाडौं ।

एकादेशमा भर्खरै जन्मिएको डमरु लिएर सिंहिनी हिँडिरहेकी थिई । केही कारणले डमरु पछाडि छुटेछ, र हराएछ । पछि जंगलमा भेडाहरू चर्दै त्यही डमरु भएका ठाउँमा पुगेछन् । साना डमरु भेडासँगसँगै हिंडेछन् । भेडालाई पनि बच्चासँग केको डर, उनीहरूले सँगै हिँड्न दिएछन् । बढ्दै जाँदा डमरुको शरीर त सिंह नै देखियो तर, भेडाजस्तै भ्याभ्या गरेर कराउँदोरहेछ । अरू हिंस्रक जनावर भेडालाई लखट्थे, भेडासँगै सिंह पनि डराएर भाग्थ्यो ।

पछि, अर्को सिंह भेडा लखेट्दै थियो, भेडासँगै आफूजस्तै सिंह पनि डरले भागेको देखेर शिकारी सिंह जिल्ल पर्यो । भाग्ने सिंहलाई च्याप्प समात्यो र इनारमा अनुहार देखाउँदै सतर्क गरायो, ‘तिमी त मजस्तै सिंह हौ नि, किन भागेको, लौ मजस्तै डुक्र त !’ ऊ शिकारी सिंहजस्तै डुक्रियो । र, आत्मपहिचान भएपछि भेडा छोडेर सिंह बनेर हिंड्यो ।

आजदेखि राष्ट्रिय सम्मेलनमा बस्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ यो कथा सुनाउनुभयो र भन्नुभयो– हामी पनि अब त्यही डमरुजस्तै पुनः सिंह बन्छौं ।

राजधानीमा रहेका समाचार माध्यमका सम्पादक तथा चिफ रिपोर्टरहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौतापछि आफूहरू भेडाको बथानमा मिसिन गएको, संसदीय व्यवस्थामा हुने विकृति आफूमा पनि केही विकसित हुन थालेको महसुस गर्दै प्रचण्डले भन्नुभयो– ‘अब हामी सच्चिन्छौं ।’

संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने, महँगो निर्वाचनमा सहभागी हुने र भ्रष्टाचार गरेर लगानी उठाउने जुन विकृति छ, त्यसलाई माओवादी केन्द्र सच्याउन चाहन्छ, संविधान निर्माणकै बेलामा पनि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा फरक मत जनाएको र आफ्नो बहुमत पुगेपछि सोहीअनुसार परिवर्तन गर्ने उहाँको धारणा थियो । ‘हामी जनवादी केन्द्रीयतामा विश्वास गर्छौं, जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मान्यता हाम्रो छैन’ प्रचण्डले भन्नुभयो– ‘निर्वाचन प्रणालीका कारण पनि मुलुकमा भ्रष्टाचार बढेको छ, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर खर्च घटाउने र विचारसहितको नेतृत्व छान्ने विकल्पमा जानैपर्छ ।’

‘अहिले हेर्नुस् कति भ्रष्टाचार बढेको छ, मेरो प्रधानमन्त्रित्व कालमा तपाईंहरू मिडियामै हुनुहुन्थ्यो मेरो सरकारले भ्रष्टाचार गरेको भए तपाईंहरू लेख्नुहुन्नथियो र !’ प्रचण्डले भन्नुभयो—‘हामी जनयुद्धको विरासतबाट नेतृत्वमा आएका हौं, भ्रष्टाचार गर्न हजारौं शहीद, घाइते र विस्थापित परिवारको आत्माले हामीलाई दिँदैन ।’ संविधानमा नै ‘समाजवादउन्मुख मुलुक’ भनिएका कारण पनि माओवादी केन्द्रले समाजवादी दिशातिर अघि बढ्न चाहने कम्युनिस्ट र समाजवादी दलहरूका साथ मिलेर अघि बढ्न चाहेको, र मुलुकको आवश्यकता पनि त्यही रहेको उहाँको विश्लेषण थियो ।

‘विश्व पुँजीवादका कारण विनासतिर गइरहेको छ । जलवायु परिवर्तन, हिमाल पग्लने, समुद्र सतह बढ्ने सबै पुँजीवादका परिणामहरू हुन्, यसले नाफाबाहेक केही हेर्दैन, पुँजी लगाऊ नाफा कमाऊ भन्छ, रोजगारी सिर्जना गर्ने र समाजका लागि सोच्ने, पछिल्लो पुस्ताका लागि यस पृथ्वीलाई बचाएर राख्नुको सट्टा हतार–हतार मुनाफा बटुल्न मुठीभर पुँजीवादीहरू लागिरहेका छन् । त्यसैले समाज बचाउन पनि समाजवादतिर लाग्नुको विकल्प छैन’ प्रचण्डले भन्नुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालसँग केही समयअघि सडकमा समेत उत्रिएका कम्युनिस्ट तथा समाजवादी शक्तिलाई एकीकृत गर्दै अघि बढ्ने दाबी गर्ने प्रचण्ड किन एकीकृत ढंगले अघि बढ्न सकिरहनुभएको छैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो–‘माधव नेपालजीहरूसँग पार्टी एकताको सम्भावना छ, उहाँसँग मात्र होइन अरू कम्युनिस्ट र समाजवादी शक्तिहरूसँग मिलेर वृहत् मोर्चा बनाएर अघि बढ्ने प्रयासमा छु ।’

अर्को एक प्रसंगमा उहाँले समय र परिस्थितिले प्रचण्डकै माग गरेकाले मात्र पुनः अध्यक्ष बन्न चाहेको उहाँको स्पष्टोक्ति थियो– ‘मैले बाँचुञ्जेल अध्यक्ष हुनुपर्छ भन्ने होइन । विगतमा डा. बाबुराम भट्टराईजीलाई अध्यक्ष बनाउन पनि प्रस्ताव गरेकै हुँ, मेरै प्रस्तावमा उहाँ प्रधानमन्त्री पनि बन्नुभएको हो । त्यसैले ममा नेतृत्वको भोक छ भन्ने होइन । जनआन्दोलनमा गरेको प्रतिवद्धताअनुसारका काम पूरा गर्न मैले अग्रमोर्चामा उभिनैपर्छ, पलायन हुन मिल्दैन, त्यसमाथि पार्टीका साथीहरूको विचारको सम्मान पनि त मैले गर्नैपर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button