
राजनीतिमा लाग्ने शिक्षक र कर्मचारीलाई तनाब
११ पुष २०७८
ईश्वरराज ढकाल
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहनुभएका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको छ । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।
दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताउनुभएको थियो ।
तर, उहाँलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उहाँले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताउनुभएको थियो ।
नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महाशाखा प्रमुख तिवारीले मैले मोबाइलमा राजीनामा दिएको फोटो खिचेको थिएँ । अहिले रहेनछ पछि देखाउनेछु उहाँले भन्नुभयो ।
स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उहाँले राजीनामा दिनुभएको छैन । यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्विटर ट्विट गर्दै ‘रोटी इमानकै खान्छु, छोडें त्रिविको प्राध्यापन कर्म’ लेख्नुभएको छ । उहाँले ट्विटरमै राजीनामा पत्र पेस गर्नुभएको छ । सञ्चार माध्यममा समाचार आएपछि उहाँले राजीनामा दिनभएको हो । गुरागाईले नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी दिनुभएको थियो ।
त्रिविमा जागिरे भएर राजनीति गर्ने सयभन्दा बढी भएपछि एकले अर्कालाई सिध्याउन धमाधम सूचना दिन थालेका छन् । पछिल्लो उदाहरणको रूपमा दुई जना देखिएका छन् । गुरागाईंले राजीनामा दिए पनि तिवारीले हालसम्म त्रिविको पदबाट राजीनामा दिनुभएको छैन । त्रिभुवन विश्वविद्यालयमा भागबण्डामै उपकुलपति, रजिस्टार र रेक्टरसहितका पदाधिकारी पदाधिकारी, डीन, विभाग, महाशाखा र शाखा प्रमुख, क्याम्पस प्रमुख नियुक्ति भएका छन् । उनीहरूले आफूले पार्टीमा जिम्मेवारी लिएको भए तत्काल छाड्नुपर्ने माग कर्मचारीले राख्न थालेका छन् ।
त्रिविका अधिकांश प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापकलगायत शिक्षक र कर्मचारी राजनीतिमा आबद्ध छन् । त्रिविको यो सूचनापछि जागिर वा पार्टीबाट राजीनामा दिने भन्ने विषयमा संकट देखिएको छ । त्रिवि कर्मचारी प्रशासन महाशाखाले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी गरी चेतावनी दिएको थियो ।
त्रिविका प्राध्यापक संघ, संगठन, कर्मचारी संघ, संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशन लगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिएको हो । सूचनामा विश्वविद्यालयका शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेद्वार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
सो सूचनामा कुनै पनि दलको सदस्यता लिई वा नलिई उम्मेदवार बन्न बन्देज लगाइएको छ । कुनै दलबाट उम्मेद्वार बन्न चाहेमा मनोनयन दर्ताको दिनुभन्दा १५ दिनअघि नै राजीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ । सो नियमको बर्खिलाफमा त्रिविका शिक्षक र कर्मचारीले महाधिवेशन प्रतिनिधि भएको र निर्वाचनमा समेत भाग लिएको पाएपछि त्रिविले सूचना जारी गरेको हो ।
सूचना जारी भएपछि दलमा लागेका शिक्षक र कर्मचारीले कर्मचारी प्रशासन महाशाखामा तत्काल स्पष्टिकरण दिनुपर्ने छ। त्रिवि कर्मचारी संगठनका अध्यक्ष हेम न्यौपानेले केही शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएर महाधिवेशनमा भाग लिएको जानकारी पाएको बताउनुभयो ।



