कृषि र किसान

मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

संक्रमित क्षेत्र ४५ दिनका लागि सिल गरियो
हरिहर नेपाल
विराटनगर ।

मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । प्रजिअ दाहालका अनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि फार्ममा रहेका २ हजार ब्रोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकाले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

त्यसै गरी ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । केही दिनअघि मात्रै गोपाल साहले सञ्चालन गरेको ग्रामथानस्थित श्रीगणेश कृषि फार्ममा रहेका १ हजार लोकल र १ हजार ब्रोइलर कुखुरामध्ये एक महिना उमेरका २ सयवटा लोकल कुखुरामा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा रहेका बाँकी कुखुरा सोमबार नष्ट गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकको निर्णयपछि बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा. सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो । ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले सञ्चालन गरेको काब्या कृषि फार्ममा रहेका करिब ३ हजार ५ सय लेयर्स मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना जाँच गर्दा बर्डफ्लु पोजेटिभ पुष्टि भएपछि पुनः नमुनाहरूलाई काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।

काठमाडौंस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालाले समेत बर्डफ्लु पुष्टि गरेपछि शुक्रबार काव्या कृषि फार्ममा रहेका बाँकी १ हजार ६ सय ५० वटा कुखुरा, २० कार्टुन अण्डा, ९ सय केजी दाना, ४० बन्डल अण्डा राख्ने क्रेटसमेत नष्ट गरिएको ग्रामथान गाउँपालिकाका भेटनरी प्राविधिक अञ्चलराज नेपालले जानकारी दिनुभयो । फार्म क्षेत्रमा बर्डफ्लुको थप संक्रमण नहोस् भनेर निर्मलीकरण गरी ४५ दिनका लागि सिलसमेत गरिएको जनाइएको छ ।

त्यसै गरी बुढीगंगा गाउँपालिका–५ स्थित किशोर सरदारले सञ्चालन गरेको रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमुना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको जनाइएको छ । बर्डफ्लु पुष्टि भएपछि फार्ममा रहेका २५ जोर परेवा र २ सय ५० केजी दाना नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाभित्रका केही फार्महरूमा बर्डफ्लु पुष्टि भएपछि प्रजिअ दाहालको अध्यक्षतामा सोमबार बसेको जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले फार्महरूमासमेत निगरानी गर्न अन्य स्थानीय तहहरूलाईसमेत पत्राचार गर्ने निर्णय गरेको छ। साथै, छिमेकी जिल्लाहरूमा समेत आवश्यक सतर्कता अपनाउन आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ ।
बैठकले बर्डफ्लुका कारण नष्ट गरिएका पंक्षीजन्य सामग्रीहरूको नियमानुसार क्षतिपूर्ति र सामग्री व्यवस्थापनका लागि प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने समेत निर्णय गरेको जनाइएको छ ।nwesofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button