खेलकुद

भेट्रान बुफोनको ‘क्लिन सिट’ मा कीर्तिमान

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइजी बुफोनले ‘क्लिन सिट’ मा नयाँ कीर्तिमान बनाएका छन् । उनी व्यावसायिक खेल करिअरमा ५ सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलरक्षक बनेका हुन् ।

४४ वर्षीय बुफोनले इटालियन सिरी ‘बी’ मा पार्माबाट खेल्दा बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको खेलमा आफ्नो ५ सयौं क्लिन सिटको कीर्तिमान बनाएका हुन् । बेनेभेन्टोसँग गोलरहित बराबरी खेल्दै उनी सो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो गोलरक्षक बनेका हुन् ।

बुफोनले इटालियन क्लब युभेन्ट्सबाट ३२२, पार्माबाट ९२, फ्रान्सेली क्लब पिएसजी बाट ९ र इटालीको राष्ट्रिय टोलीबाट ७७ खेलमा क्लिन सिट राखेका छन् । बुफोनले इटालियन लिगमा ६ सय ५३ खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि राखेका छन् । यसअघि पाओलो माल्डिनीको नाममा उक्त कीर्तिमान थियो ।

बुफोनले आफ्नो करिअरमा २७ उपाधि जितेका छन् । उनले ९ पटक इटालियन लिग, ५ पटक कोपा इटालिया, ६ सुपर कप, १ यूईएफए कप र सन् २००६ को फिफा विश्वकप जितेका थिए । बुफोन च्याम्पियन्स लिगमा भने अभागी सावित हुँदै आएका छन् । युभेन्टसबाट तीन पटक फाइनल खेलेपनि उनले उपाधि जित्न भने सकेनन् ।

४४ वर्षको उमेरमा पनि बुफोन लगातार खेलिरहेका छन् । दोस्रो श्रेणीको पार्मासँग २ वर्षको सम्झौता गरेका बुफोनले यस सिजन सबै २१ खेलमा सुरुवात गरेका छन् । सन् १९९५ बाट व्यावसायिक करिअर सुरु गरेका बुफोनले करिअरको अधिकांश समय युभेन्टसमै बिताएका थिए ।

राष्ट्रिय टोलीका लागि १ सय ७६ खेल खेलेका बुफोन अझैपनि संन्यास लिने सुरमा छैनन् । उनले सन् २०२२ को विश्वकपका लागि आफ्नो सम्भावना नरहेको पनि स्वीकारेका छन् । इटालीले विश्वकपमा स्थान बनाउन प्लेअफमार्फत छनोट हुनुपर्नेछ। इटालीले अब प्लेअफमा नर्थ म्यासेडोनियालाई हराएर पोर्चुगल वा टर्कीको चुनौती पन्छाएमात्र विश्वकपमा खेल्नेछ ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button