खबर

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते

काठमाडौँ
नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकोे अधिवेशन हुन बाँकी छ।

उल्लेखित १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने मिति तय गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए।

जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेको तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्न समेत समितिले सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको छ।

यसैगरी महोत्तरी क्षेत्र नं ३ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकामा उक्त निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्ने तय गरिएको उनले जानकारी दिए।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button