
एजेन्सी – अन्तिम समयमा आत्मघाती गोल गर्न पुग्दा एथलेटिको बिल्वाओले ले स्पेनिस ला लिगामा हार बेहोरेको छ । बिल्वाओले घरेलु टोली रियल मलोर्कासँग ३–२ को हार बेहोरेको हो ।
घरेलु मैदानमा मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरेपनि हार टार्न सकेन ।
मलोर्कामा सोमबार राति भएको खेलको २२औं मिनेटमा साल्भा सेभिल्लाको पेनाल्टी गोलबाट मलोर्काले सुरुवाती अग्रता लिएको थियो । ३०औं मिनेटमा एन्जल रोड्रिग्वजले गोल गरेपछि मलोर्का पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
दोस्रो हाफमा दई मिनेटको अन्तरमा दुई गोल गर्दै बिल्वाओ खेलमा फर्किएको थियो । ५९औं मिनेटमा राहुल गार्सियाले तथा ६१औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । तर निर्धारित समयको खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गर्न पुगेपछि बिल्वाओले हार बेहोर्न पुग्यो ।
यो हारसँगै सातौ स्थानमा उक्लने मौका गुमाएको बिल्वाओ २४ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ । मलोर्का २३ खेलबाट २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट ।



