सृजनाको चौतारी

रातो बिहानको प्रतीक्षा

कविता

 प्रकाश शाही
रातो बिहानको प्रतीक्षा
ऊ खेत खन्दाखन्दै
खेतमै हराएको मान्छे
मैले लाखौँपटक भेट्दा पनि
उसलाई आफ्नो आँगनमा भेट्नै सकिनँ
किनकि ऊसँग आफ्नो जमिन छैन
एक आङ ओत लाग्ने
तिमीले सपना देखाएको धेरै भयो
उसलाई जमिन दिने
ऊ कुल्ली काम गर्दागर्दै
सडकमा हराएको मान्छे
मैले लाखौँपटक भेट्दा पनि
उसलाई आफ्नो गन्तव्यमा भेट्न सकिनँ
किनकि ऊसँग आफ्नो गन्तव्य नै छैन
अरूको काम गर्दागर्दै
तिमीले सपना देखाएको धेरै भयो
उसलाई आफ्नो अधिकार दिने
ऊ परदेश जाँदाजाँदै
परदेशतिरै हराएको मान्छे
मैले लाखौँपटक नियाल्दा पनि
उसलाई आफ्नो भूमिमा देख्न सकिनँ
किनकि
यो त शासकहरूले भाडाका मान्छे जन्माउने देश
तिमीले सपना देखाएको धेरै भयो
एउटा स्वाधीन देश बनाउँछु भनेर
तर आज
देशमा कुल्लीहरू, किसानहरू
आफ्ना जमिन नहुने श्रमजीवीहरू
देशबाट पर पुगेका
देशालाई माया गर्ने परदेशीहरू
मात्र भएजस्तो लाग्छ
किनभने
खेतमा उनीहरू छन्
सडकमा उनीहरू छन्
देशको साँधसिमानामा उनीहरू छन्
जनताको जीवनमा उनीहरू छन्
तिमी सपना देखाउनेहरू खै कहाँ छौ ?
छौ त
तिमी सपना देखाउनेहरू आज
रमितेजस्ता
सहरमा छौ
महलमा छौ
सरकारमा छौ
सदनमा छौ
न्यायालयमा छौ
प्रशासनमा छौ
तर देश र जनताको जीवनमा कहीँ भेटिँदैनौ
राजनीतिक गुजाराका लागि मालिकहरूको पाउ
मोल्ने
अस्तित्व हराएको मान्छेजस्ता
त्यसकारण जनतालाई नयाँ बिहान जरुरी छ
रातो घामसहितको ।

ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button