खबरस्वास्थ्य

महिनावारी विभेद भोग्दै राजधानी

शोभा परियार
काठमाडौं ।

‘महिनावारी विभेदका कारण नेपालको संविधान, २०७२ ले प्रदान गरेका १२ वटा धाराका नागरिक अधिकार हनन भएका छन् । महिनावारी विभेदले शक्ति र पितृसत्ता निर्माण तथा सामाजिकीकरण गरिरहेको छ, तर समाजलाई यसको मर्म बुझाउन सकिएको छैन ।’ यो विश्लेषण हो सम्मानित महिनावारीमा वर्षौंदेखि अगुवाइ गर्दै आएकी अभियन्ता राधा पौडेलको । मदनपुरस्कार विजेतासमेत रहेकी पौडेल भन्नुहुन्छ– ‘महिलालाई स्यानिटरी टावेल बाँडेर मात्र सम्मानित महिनावारी हुँदैन ।’

नेपाल समाचारपत्रले राजधानीका एक दर्जनभन्दा बढी स्थानमा बसोवास गर्ने महिलासँग कुराकानी गर्दा महिनावारीलाई परम्परागत रूपमै ‘अपवित्र समय’ मान्दै आएको देखिएपछि स्वास्थ्यकर्मीसमेत रहेकी पौडेलसँग जिज्ञासा राख्दा उहाँले यो विश्लेषण गर्नुभएको हो ।

राजधानीका शिक्षित महिलाले समेत महिनावारी बार्ने प्रचलनलाई छोड्नसकेको पाइएन । खासगरी खस समुदायका परिवारमा यो अभ्यास बढी कठोरताका साथ पालना गर्नेगरेको देखियो । महिनावारी भएको बेला किशोरीलाई अँध्यारो कोठामा राख्ने, पुरुषलाई हेर्न र छुन नहुने नियम चलाउने, जनावर र बोटबिरुवालाई समेत छुन नहुने भन्ने सोचबाट महिला तथा पुरुष ग्रस्त देखिए ।

लैनचौरकी टीका पाण्डे (३६) शिक्षित परिवारकी शिक्षित छोरी हुनुहुन्छ । पहिलोपटक महिनावारी हुँदाको घटना सुनाउनुहुन्छ, ‘एसएलसी परीक्षा सकिएको ५ दिन भएको थियो । घरमै थिएँ, महिनावारी भएको पहिलो दिन घरमा कसैलाई भनिनँ । सुनाउन अप्ठेरो लाग्यो । त्यो दिन रातभरि निदाउन पनि सकेकी थिइनँ । आमा र बहिनीले केरकार गरेर हैरान पारे, अनि भनिदिएँ । भन्नु मात्र के थियो र, छिमेकी काकीको अँध्यारो कोठामा २१ दिन थुनिएँ ।’

पाण्डेले भन्नुभयो– आमाले घामलाई, केटा मान्छेलाई हेर्नु हुँदैन, जतिबेला पायो उतिबेला बाहिर ननिस्कनू भनेर बन्देज लगाउनुहुन्थ्यो । म अरूको आँखा छलेर बाहिर निस्कन्थेँ, कोठाको झ्यालबाट मेरो घरको छानो चिहाएर हेर्थे, गाउँका केटाहरूलाई पनि हेर्थेँ, घाम हेर्थें । बुवा, अंकल, दाइ र भाइ भने म बसेको घरतिर आउनु हुँदैनथ्यो । त्यो समय मलाई जेल परेको अनुभव भयो । त्यसरी सबै कुराबाट थुनिएर बस्नुपर्दा मनमा अनेक कुरा खेल्थ्यो, मन आत्तिन्थ्यो ।

ठमेलमा बस्दै आएकी सीता श्रेष्ठ (४३) ले पढाइमा स्नातकोत्तर गर्नुभएको छ । महिनावारी बार्ने गर्नुहुन्छ । श्रेष्ठ यस्तो बेला पूजाकोठामा र भान्छा कोठामा चार दिनसम्म जान मन नलागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘आफैंलाई असहज लाग्ने भएरै बार्ने गरेकी छु । महिनैभरि काम गरेर थाकेको यो समयमा आरामसँग बस्न पाउने, आफूलाई समय दिन पाउने बताउनुभयो । ‘हाम्रै हिन्दु धर्मले पनि महिलाकै सुरक्षाका लागि बार्नुपर्छ भनेको छ, किन हामीले यो नियम पालना नगर्ने’, श्रेष्ठ भन्नुहुन्छ– ‘महिला महिनावारी भइनन् भने गर्भवती पनि हुन नसक्ने, महिनावारीलाई प्रकृतिले नै दिएको सुनौलो उपहार हो भनेर सबैले बुझ्नुपर्छ ।’श्रेष्ठ भन्नुहुन्छ – ‘महिनावारी भएको समयमा नराम्रो व्यवहार गर्ने मानसिकता गलत हो ।’

सामाखुशी–२६ मा किराना पसल गर्ने सरस्वती केसी (५८) ले महिनावारी हुँदाको ५ दिनसम्म बार्ने गरेको बताउनुभयो । केसी भन्नुहुन्छ– ‘म अरू सबै काम गर्छु तर मन्दिर जादिनँ, मलाई महिनावारीको समयमा आफू चोखो छैन भन्ने लाग्छ । बार्नुपर्ने कुरामा विश्वास छ, आफू सफा भएर काम गर्नसक्ने अवस्था हुँदा घरको सबै काम गरेकी छु’, उहाँ भन्नुहुन्छ – ‘महिनावारी समयमा रक्तस्राव हुने भएकाले शरीर कमजोर हुन्छ । यस्तो बेला दालभात साथै दूध–दही, माछामासु, हरियो सागपात, गेडागुडीजस्ता खानेकुरा खाने, सफा प्याड प्रयोग गर्न अत्यन्तै जरूरी छ ।’

सम्मानजनक महिनावारीका सम्बन्धमा अभियन्ताहरूले २८ बुँदा पहिचान गरेका छन् । महिनावारी कुनै पनि किसिमको विभेदबाट मुक्त हुनुपर्छ भन्ने धारणा अधिकारकर्मीहरूको छ । महिनावारी भएकी महिलालाई दोषी र अशुद्ध व्यक्तिका रूपमा गरिने व्यवहार मानव हिंसा हो भन्ने धरणा उहाँहरूको छ । यसै गरी सम्मानजनक महिनावारीका लागि विश्व स्वास्थ्य दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, मानवअधिकारको विश्वव्यापी घोषणा, महिला हिंसाविरुद्धको १६ दिने अभियानका विषयमा विचार विमर्श र सचेतना अभियान चलाएर पनि महिनावारीलाई सम्मान दिन सकिने अभियन्ताहरूको धारणा छ ।

विभेदको आधारका रूपमा महिनावारीलाई लिनु महिलाको मानवअधिकारको हनन हो, महिलालाई कुनै पनि कारण देखाएर विभेद गर्नु मानवअधिकारको हनन हो, जन्मदेखि मृत्युपर्यन्त महिलामाथि हुने विभेदको अन्त्य नभएसम्म महिनावारी विभेद अन्त्य हुन्न, महिनावारी विभेदलाई महिलाको मुद्दा मात्र नठानी समाजको मुद्दाका रूपमा लिनुपर्छ, महिलाको छनौटलाई सम्मान गर्ने समाजको निर्माण गर्नुपर्छ भन्दै सम्मानजनक महिनावारीका अभियन्ताहरूले आवाज उठाउँदै आएका छन् ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button