मूल खबर

कार्की परिवारको गुनासोः वेपत्ता आमाको खोजीमा प्रहरीले गंभीरता नदेखाएको

मेचीनगर । झापाको मेचीनगर–६ की ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो कार्की परिवारले गरेका हुन् ।

२०७८ फागुन २९ गते घरबाट हिडेकी लिलामाया अहिले सम्म नफर्किएपछि परिवार र आफन्तजन लीलामायाँको खोजीमा लागेकाछन् ।
कार्की परिवारद्धारा आयोजित पत्रकार सम्मेलनमा ठूली छोरी देवी मैनालीले भनिन्, ‘आमा कहाँ कस्तो अवस्थामा हुनुहुन्छ होला आमाको खोजीमा तपाइहरुले सहयोग गरिदिनु होला ।’ उनले आमालाई जहाँ जस्तो अवस्थामा भएपनि एक पटक सम्पर्क गर्न अनुरोध समेत गरिन् ।

‘आमाले ठूली छोरीकोमा जान्छु भन्नु भएको थियो । हामी त उतै जानुभयो होला भनेर ढुक्क थियौं, तर भोलिपल्ट मात्र थाहा भयो आमा त त्यहाँ जानु भएको रहेन छ, उमेरले ७० नाघि सकेकी हाम्री आमा कहाँ जानु भयो प्रहरीले पनि चासो दिएको छैन, अब हामी कहाँ खोजौं’ –छोरा प्रेमकुमार कार्कीको गुनासो थियो ।

लिलामायाको जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते दिउँसो २ वजेर ५५ मिनटमा काँकरभिट्टाबाट सूर्योदय यातायातमा चढेर पश्चिमतर्फ लागेको सिसि क्यामेराको फुटेज भेटिएको जानकारी दिए ।

आमा हाम्रोमा जाने भनेर हिड्नु भएको रहेछ तर हाम्रोमा आइपुग्नु भएन, गाडी चढेर अन्तै लाग्नु भएछ, कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा नभएको मैनालीको भनाई छ।

उनले प्रहरीले कल डिटेल्स समेत एक दिनको मात्र उपलव्ध गराएको बाँकी डिटेल समेत नदिएको गुनासो गरे । हामीले चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको मैनालीको भनाई थियो ।

‘नागरिकको जिउधनको सुरक्षा दिने काम प्रहरीको हो उनले भने, ‘तर आफ्नै ठाउँको प्रहरी समेत मान्छे हराएको विषयमा गम्भीर बन्न सकेन ।’
के गर्दैछ त काँकरभिट्टा प्रहरी ?
चौतारी पोष्ट अनलाइनले यस विषयमा ईप्रका काँकरभिट्टाका प्रमुख, प्रहरी नायब उपरिक्षक सुनिल दाहालसँग सम्पर्क गर्दा उनले प्रहरी यस विषयमा गम्भीरतापूवर्क लागेको बताए । उनले प्रहरीले लिलामायाँ कार्कीको खोजीका विषयमा एउटा फायलनै तयार गरेको बताउँदै खोजीका लागि अनुसंन्धानका विविध पाटाहरुलाई सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको पनि बताए । चौतारी पोष्ट अनलाइनको एक जिज्ञासामा उनले आमा हराउनु भएकोमा परिवारलाई परेको पिडालाई प्रहरीले आफ्नै परिवारको संझेको बताउँदै लिलामायाँको खोजीमा प्रहरीको तर्फबाट कुनै कसर बाँकी नराखेको समेत बताए । नायब उपरिक्षक दाहालले खोजीका विविध पक्ष र पाटामा प्रहरी सकृय रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button