
काठामाडौ । आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने वा नहुने द्वीअर्थी निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक १० दिन बसेर सोमवार सकिएको हो । मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए । ‘तीनवटा विषय बैठकका एजेण्डा थिए । जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो’, नेता बास्तोलाले भने, ‘महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग पार्टीगत हिसाबले भाग नलिने निर्णय भएको छ ।’ संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउने निर्णय सो पार्टीले गरेको छ । बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदन व्यापक संशोधन गर्दै पारित भएको छ । चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरुले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो । ६९ केन्द्रीय सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए । विप्लव र प्रकाण्डको अन्य विषयमा मतभेद रहे पनि चुनावमा जानुपर्छ भन्नेमा एकमत थियो। तर यो एजेण्डा अल्पमतमा पर्यो। कम्युनिष्ट पार्टीमा महासचिव स्वयंकै एजेण्डा अल्पमतमा पर्नु बिरलै हुने घटना हो। यसले विप्लवको नेतृत्व नैतिकतामाथी नै प्रश्न उठेको छ। कार्यकर्तालाई स्वतन्त्र रूपमा निर्वाचन लड्न दिने वा जनपक्षीय उमेदवारलाई सघाउने भनेको घुमाउरो हिसाबले चुनाब उपयोग नै भनेको हो। निर्वाचन आयोगमा विप्लवको दल भने दर्ता छैन। ‘हामी चुनावमा भाग लिँदैनौं। तर स्वतन्त्र रूपमा निर्वाचनमा लड्नबाट कार्यकर्तालाई रोक्दैनौं,’बाँस्तोलाले भने,‘हाम्रा एजेन्डासँग मिल्नेहरूलाई हाम्रो सहयोग रहन्छ। हामी यो व्यवस्थाको भण्डाफोर गरेर अघि बढ्छौं।’ यसरी नेकपाले न त चुनावमा भाग लिने न त अर्को कुनै खालको नीति लिने गरेका कारण पार्टी थप अन्यौलतामा गएको नेता(कार्यकर्ताहरूको बुझाइ छ। ‘चुनावमा भाग पनि नलिने तर स्वतन्त्र रूपमा कार्यकर्तालाई चुनाव लड्न दिने भनिएको छ। यो के भन्ने खोजिएको हो। किन यस्तो अन्यौलता राख्न खोजिएको हो,’ नेकपाका एक नेताले भने,‘एकातिर चन्दा उठाउने धन्दा मात्रै गरेको भन्ने आरोप पार्टीलाई लागेको छ। अब भोट बेचेको आरोप लाग्ने होला।’ चुनाव जित्न सकिन्छ भन्ने आत्मविश्वास भएका र जनमत भएकाहरू चुनावको पक्षमा देखिए पनि जनमत नभएकाहरूको पार्टीमा बहुमत भएकाले यो अवस्था आएको ती नेताको तर्क छ। आन्दोलन कुन उद्देश्यले गरिएको थियो र अहिलेको परिस्थितिको जवाफ नेतृत्वले कसरी दिन्छ भन्ने विषय महत्वपूर्ण रहेको अर्का एक नेताले बताए। ‘हाम्रो आन्दोलनमा १२ जना सहिद भए। हामीले यसको औचित्य कसरी पुष्टि गर्ने होरु हाम्रो अबको बाटो के हो भनेर स्पष्ट छैन,’ ती नेताले भने,ुकार्यकर्तालाई राजनीतिमा हिँड्न लगाउने अनि शिवगढीमा धान र गहुँ काटेर मात्रै वैज्ञानिक समाजवाद स्थापना त पक्कै हुँदैन।’ अरू दलसँग पार्टी एकता गरेर अघि बढ्ने कि एक्लै हिँड्ने भन्नेमा समेत नेकपाभित्र चर्को मतभेद छ। अहिलेकै पार्टीलाई संगठित बनाएर अघि बढ्नुपर्ने पक्षमा विप्लव रहेको स्रोतको दाबी छ। पार्टी एकता गर्नै परे माओवादी केन्द्रसँग गर्नुपर्ने विप्लवसहित बहुसंख्यक नेताहरूको धारणा छ। तर प्रकाण्ड भने एमालेसँग एकता गर्नुपर्ने पक्षमा छन्। विप्लवलाई माओवादी केन्द्रमा ल्याउन माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सक्रिय पहल गरेका छन्।



