खेलकुद

नेपालले मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२ः३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पनि पपुवा न्युगिनीलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । मलेसियाले पिएनजीमाथि सानदार बलिङ र फिल्डिङका साथ जित हात पारेको थियो । तर नेपालको फिल्डिङ र बलिङ भने कमजोर प्रदर्शन गरेको थियो ।

पिएनजीलाई हराएको मलेसिया उच्च मनोबलमा हुँदा नेपाललाई स्तब्ध पार्ने सोचमा हुनेछ । घरेलु टोली नेपाल मलेसियामाथि सहज जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछ । नेपाल बलिङ सुधारमा ध्यान दिनेछ । नेपालले पपुवा न्युगिनीसँग दुवै ओडिआई खेलमा कमजोर बलिङको कारण हारेको थियो । पहिलो खेलमा टि२० आईमा पनि धौधौ परेको थियो ।

नेपालका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । पार्टटाइम बलरमा धेरै निर्भर हुनु हुँदैन । नेपालले बलिङ बलियो बनाउन एक प्रमुख बलर खेलाउन सक्छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

आसिफ ४३ र कुशल २० रनमा आउट भएका थिए । तेस्रो नम्बरमा रोहित पौडेल हुनेछन् । रोहितले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । दीपेन्द्रलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक छ । नेपालले कुशल मल्लको स्थानमा सागर ढकाललाई खेलाउने गर्दछ । सागर बायाँ हाते खेलाडी हुँदा केहि सहज हुनसक्छ । आरिफ शेख, लोकेश बम, करण र सोमपाल कामी तल्लोक्रमका ब्याटर हुनेछन् । कुशल भुर्तेल, करण केसी र सन्दीप प्रमुख हतियार हुन् ।

गत वर्ष त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियालाई दुवै खेलमा पराजित गरेको थियो । २०२० को एसिया कप छनोटको इस्टर्न रिजनमा छनोटमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो । उक्त खेलमा नेपाललाई हराउन शर्विन मुनीआन्दीले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

पपुवा न्युगिनीलाई हराउन पनि शर्विनले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । तीव्र गतिका बलर मुनीआन्दी इपिएलमा भैरहवा ग्ल्याडियटर्समा अनुबन्ध भएका थिए । चितवन टाइगर्सबाट इपिएल खेलेका विरनदीप सिंह मलेसिया प्रमुख हतियार हुन् । उनले पपुवा न्युगिनीविरुद्ध ५९ रनको अविजित इनिङ खेलेका थिए । शर्विन र विरनदीप प्रमुख हतियार हुन् । विरनदीप ब्याटिङमा नेपाललाई घातक बन्नसक्छन् ।

मलेसियाले गत वर्ष नेपाल र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक सिरिजपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । सैद अजिज, विरनदीप सिंह , अहमद फैज ब्याटिङ हतियार हुन् । बायाँ हाते स्पिनर पवन दिपसिंह पनि टाउको दुखाईको बलर बन्न सक्छन् । तीव्र गतिका बलरमा शर्विन र मोहम्मद वाफिक उसका हतियार हुन् । मलेसियाले नेपाललाई राम्रो चुनौती दिने अनुमान गरिएको छ ।

हेड टु हेड :

मलेसिया र नेपालबीच ७ टि२० आई खेल भएको छ । जसमा नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

खेलको प्रत्यक्ष कान्तिपुर टेलिभिजन र फेसबुक पेजबाट हेर्न सकिनेछ । आजको काठमाडौंको मौसम १९ देखि २२ डिग्री सेल्सियस सम्म रहनेछ । आज वर्षाको पनि सम्भावना रहन्छ ।

नेपालको टोली :

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

टि२० त्रिकोणात्मक सिरिज

चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button