मूल खबर

‘हेर्न नमिल्ने’ मा पर्‍यो नेपालसहित १४ सांसदविरुद्धको मुद्दा

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट परेको रिटमाथि आइतबार पनि सुनुवाइ रोकिएको छ ।

अध्यक्ष ओलीले हाल नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका १४ सांसदको पद मुक्त गर्न माग गर्दै दायर गर्नुभएको रिट सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । न्यायाधीश सुवेदीले सो मुद्दामा आफ्नो ‘रुचि बाझिने सक्ने’ कारण देखाउँदै सो मुद्दा हेर्न नमिल्ने इजलाससमक्ष जानकारी दिनुभएको थियो । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उहाँसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराउनुभएको थियो ।

गत भदौ २९ गते मंगलबार न्यायाधीश सुवेदीको एकल इजलासले पार्टी रोज्न पाउने अधिकारविरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशले गर्दा एकीकृत समाजवादीमा आबद्ध हुन भदौ ८ गते आयोगमा निवेदन दिएका सांसद पाण्डे नवगठित एकीकृत समाजवादीमा जाने बाटो खुल्ला भएको थियो । पाण्डेलाई आयोगले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दलको सनाखतमा सामेल नगरेपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।

रिटमार्फत ओलीले नेपाल नेतृत्व रहेको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न पनि माग गर्नुभएको थियो । एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीको जिकिर रहेको छ । रिटमा गैरकानुनी रूपमा दल दर्ता गरिएको भन्दै निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा नेपाल, झलनाथ खनालसहितका सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो । वैशाख २७ गते प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा नेपालसहित १४ जना सांसद अनुपस्थित भएका थिए । पार्टी संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिन अनुपस्थित भएको भन्दै उनीहरूलाई कारबाही गरी पदमुक्तका लागि संसद् सचिवालयमा पत्राचार गरेका थिए । तर, सभामुख सापकोटा आफ्नो कार्यकक्षमा अनुपस्थित भएपछि पदमुक्त गर्न गरेको पत्राचार प्रक्रिया अघि बढ्न सकेन । त्यसपछि नेपालले ९ भदौमा निर्वाचन आयोगमा नयाँ दल गराउनुभयो ।

त्यसपछि सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनुपरेन भन्दै सूचना टाँस गर्नुभएको थियो । त्यसविरुद्ध अध्यक्ष ओली सर्वोच्च अदालतमा १७ भदौमा रिट दायर गर्नुभएको थियो ।यसअघि २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले ओलीको रिटमा मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button