
एजेन्सी – जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा पराजित हुँदै क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
बार्सिलोना क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले तथा समग्रमा ४–३ ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नोउक्याम्पमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि ७५ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न चुक्दा बार्सिलोना बाहिरिन पुग्यो ।
बार्सिलोनालाई आउट गर्न फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन । खेलको चौथो मिनेटमा नै फिलिप कोस्टिकको पेनाल्टी गोलबाट बार्सिलोना पछि परेको थियो । एरिक गार्सियाले पेनाल्टी बक्समा जस्पर लिन्डस्ट्रमलाई फउल गरेपछि रेफ्रीले फ्रान्कफुर्टलाई पेनाल्टी प्रदान गर्दा फिलिप चुकेनन् ।
३६औं मिनेटमा राफयल सान्तोष बोरले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा फिलिपले दाइची कामदाको पासमा व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले पछि प¥यो ।
त्यसपछि बार्सिलोनाले इन्ज्युरी समयमा दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । ८४औं मिनेटमा सर्जियो बुस्क्वेट्सको गोलले मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बुस्क्वेट्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा इभान एन डिका दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्कफुर्ट १० खेलाडीमा सेमटिन पुग्यो । त्यसमै प्राप्त पेनाल्टीमा मेम्फिस डिपाएले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउँदा बार्सिलोनालाई खेलमा फर्कन ढिला भइसकेको थियो ।
यो हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बार्सिलोना गत जनवरीमा कोपा डेल रेमा एथलेटिको क्लबसँग ३–२ ले पराजित भएयता १५ खेलसम्म अपराजित रहेको थियो । जसमा ११ जित र ४ बराबरीको नतिजा रहेको थियो ।
युरोपा लिगबाट पनि बाहिरिएको बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपर्ने स्थिति बनेको छ । बार्सिलोना यसअघि च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ । अब स्पेनिस ला लिगाको मात्रै सम्भावना रहँदा त्यहाँ पनि बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १२ अंकले पछि छ ।हाम्रो खेलकुदबाट ।



