कृषि र किसान

झस्किँदै छन् चिया व्यवसायी

लक्ष्मी सापकोटा
काठमाडौँ । भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् । भारतको विधान र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चिन्तित बनेका हुन् ।

समितिले निर्यातमा रोक लगाउने आशय देखिएपछि उद्योग व्यवसाय नै धराशायी हुने भन्दै उद्योगी व्यवसायी झस्किएका हुन् । नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।

गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताउनुभयो। “नेपालको चिया उच्च गुणस्तरको छ । भारतकै प्रयोगशालाबाट परीक्षण गरेर निर्यात गरिरहेका छौँ,” उहाँले भन्नुुभयो, “प्रमाणित नहुने निराधार आरोप लगाएर निर्यातलाई प्रतिबन्ध लगाउन खोजेको खोजिएको छ ।”

अहिले नेपालका विभिन्न १३ जिल्लामा २६ हजार हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । नेपालबाट वार्षिक करिब चार अर्बको चिया निर्यात हुने गरेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाए चिया उद्योग व्यवसाय बन्द भई किसान प्रत्यक्ष मारमा पर्ने रहेको व्यवसायीको भनाइ छ । त्यति मात्र हैन भारतले रोक लगाउँदा नेपालबाट भारतबाहेक अन्य देशमा हुने चिया निर्यातमा समेत समस्या पर्ने व्यवसायीले बताएका छन् । नेपालको चियाले भारतीय बजारमा राम्रो उपस्थिति जनाएपछि कम गुणस्तर देखाएर निर्यात बन्द गर्ने सङ्केत देखिएको चापागाईंको भनाइ छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भारतले निर्यातमा प्रतिबन्ध लगाउने गरी कम गुणस्तरको देखाएर संसद्मा प्रतिवेदन पेस गरेको बताउनुभयो । “भारतकै प्रयोगशालामा परीक्षण गर्दा नेपालको चिया उच्च गुणस्तरको देखिएको छ ।

निर्यातमा प्रतिबन्ध लगाउने गरी असत्य र भ्रामक फैलाउन कम गुणस्तरको भन्ने प्रतिवेदन पेस गरिएको छ, यसको खण्डन गरिरहेका छौँ,” उहाँले भन्नुुभयो । यस विषयमा कूटनीतिक पहल गर्नका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको भट्टराईले जानकारी दिनुभयो। नेपालको चिया कम गुणस्तरको हो भन्ने भनाइ सत्य नभएको भनेर वाणिज्य मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले चियाको विषयमा पछिल्लो समय चलेको चर्चाका विषयमा मन्त्रालयले जानकारी लिने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

नेपालमा उत्पादन भएको चिया छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । मुलुकमा उत्पादित चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यसबाहेक अन्य जिल्लामा पनि चिया खेती विस्तार हुँदै गएको छ । अहिले नेपालमा चियासँग सम्बन्धित उद्योगमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।गोरखापत्र दैनिक ÷गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button