खबर

काम खोज्दै सीमावर्ती बजारतिर

गोरखापत्र अनलाइन
दार्चुला। दार्चुलाको मार्मा, बैतडीको पुर्चौडी र बझाङको बुङ्गल क्षेत्रका अधिकांश मानिस दार्चुला सदरमुकाम खलङ्गा र धार्चुलालगायत भारतका सीमावर्ती बजारमा काम खोज्न जाने गर्दछन्। यसरी मजदुरी खोज्न जानेमा किशोर, युवा र ज्येष्ठ नागरिकसम्म रहने गरेका छन्।

कामको खोजीमा धार्चुला पुगेका लक्ष्मण जागरीका अनुसार वर्षात्को समयमा कामै पाइँदैन। कुनै दिन दुई/तीन सयको भारी बोक्ने काम पाए पनि कुनै दिन रित्तो हात बस्नुपर्ने हुन्छ। जागरीले भन्नुभयो, “गाउँमा काम नपाएर यहाँ आयौँ। यहाँ पनि काम नपाएर त्यत्तिकै बस्नुपरेको छ।”

पुर्चौडी नगरपालिका–५ का ६४ वर्षीय रामप्रसाद बोहराले गाउँमा रोजगारी अवसर नहुँदा दार्चुला सदरमुकाम खलङ्गाको सीमावर्ती बजार धार्चुला आइपुगेको बताउनुभयो।

आठ जनाको परिवारका अभिभावक बोहराकै कमाइमा घरखर्च चल्दै आएको छ। उहाँका तीन छोरासहित आठ जनाको परिवार छ। धार्चुलामा काम नपाएपछि पसलछेउ टोलाएर बसेका बोहराले भन्नुभयो, “नुनतेल जुटाउनका लागि कामको खोजीमा धार्चुला आइपुगेका छौँ। चैत–वैशाख र असोज–कात्तिकमा काम गर्न भ्याइनभ्याई हुने गरेको भए पनि अन्य समयमा खासै काम पाइन्न।”

धार्चुलामा काम गर्ने मजदुर कामको आधारमा नेपाल र भारतीय बजार दुवैतर्फ आउजाउ गर्ने गर्दछन्। रोजगारीको खोजीमा रहेका राम सितोलीले भन्नुभयो, “टाढा जान केही महिनामै खेती भिœयाउन गाउँ फर्किनुपर्छ। नजिकमा काम छैन।”

स्थानीय तहले गाउँमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने अधिकांश श्रमिकको माग रहेको छ। अपिहिमाल गाउँपालिकाका स्थानीय कृष्ण क्षेत्रीले भन्नुभयो, “स्थानीय तहले विकास, स्वरोजगारीका काम, घरेलु तथा साना उद्योग र व्यापार व्यवसायलाई प्रोत्साहन हुने कुनै पनि काम गरेका छैनन्।” मालिकार्जुनका स्थानीय श्यामसिंह सामन्तका अनुसार आर्थिक अभावका कारण जीविकोपार्जन गर्न समस्या भएपछि पढ्नुपर्ने उमेरका बालबालिका र आराम गर्नुपर्ने उमेरका ज्येष्ठ नागरिक कामको खोजीमा भौँतारिरहेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button