विचार

पत्रकारिताको कसीमा ‘युट्युबर’

गोरखापत्र अनलाइन
के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका छन्। इन्टरनेट प्लेटफर्ममार्फत हरेक व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्ने अवसर छ। इन्टरनेटमाथिको पहुँच बढ्दो छ। युट्युब पनि एउटा यस्तै इन्टरनेट प्लेटफर्मका रूपमा प्रयोगमा आइरहेको छ। यो प्लेटफर्ममार्फत पनि विभिन्न सूचना तथा सामग्री प्रवाह भइरहेका छन्। यसरी सूचना प्रवाह हुँदा त्यसलाई पनि सञ्चारमाध्यम मान्ने र त्यहाँ काम गर्नेलाई पत्रकार मान्ने सन्दर्भमा बहस भइरहेको पाइन्छ।

आमसञ्चारको परिभाषा दिँदा कुनै माध्यमको प्रयोग गरेर ठूलो समूहमा हुने सञ्चारलाई आमसञ्चार भन्ने गरिन्छ। यो अर्थमा हेर्ने हो भने युट्युबमार्फत हुने सञ्चारलाई आमसञ्चार भन्न सकिन्छ। माध्यमको प्रयोग गरेर एकै पटक असीमित जनसङ्ख्या र असीमित भूगोलमा सञ्चार गर्ने प्रक्रियालाई आमसञ्चार भने पनि त्यो माध्यम पत्रकारिता हुनका लागि भने केही विशेष गुणको आवश्यकता पर्दछ। इन्टरनेट प्लेटफर्मको विकास नहुँदासम्म माध्यमको प्रयोग भएर हुने आमसञ्चारलाई नै पत्रकारिता हो कि भनेझैँ गरेर बुझ्ने र बुझाउने गरियो। अब आमसञ्चार र पत्रकारितालाई एकै रूपमा बुझ्दा अलमल हुँदो रहेछ भन्ने महसुस हुन थालेको छ।

पत्रकार कसलाई भन्छन् त ? यो प्रश्नको जवाफमा स्पष्ट भएमा युट्युबर को हुन् भनेर जान्न सहज होला। नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घको विधानको परिभाषाअनुसार, पत्रकार भन्नाले– छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिस्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ भन्ने उल्लेख छ।

त्यस्तै पत्रकार महासङ्घसमेतको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहितामा पत्रकारको परिभाषा यसरी गरिएको छ– ‘पत्रकार’ भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ। सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्तिसमेतलाई सम्झनुपर्छ। त्यस्तै छापाखाना तथा प्रकाशन ऐन, २०४८ मा ‘पत्रकार भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्री सङ्कलन वा सम्पादन गर्ने व्यक्ति सम्झनुपर्दछ’ भनिएको छ।

पत्रकारका सम्बन्धमा गरिएका यी परिभाषाहरूको विश्लेषण गर्दा सूचना प्रणालीको प्रयोग गर्दै आमसञ्चारका माध्यमबाट आफ्नो उत्पादनलाई बाहिर प्रवाह गर्ने प्रक्रियामा संलग्न व्यक्तिहरूलाई पत्रकार भनेर चित्रित गर्न सकिन्छ। सूचना प्रणालीका मुख्य रूपमा तीन चरण हुन्छन्। सूचना सङ्कलन, प्रशोधन र प्रवाह। यहाँ खास गरेर पत्रकार हुनका लागि सूचना प्रणालीको दोस्रो चरण अर्थात् प्रशोधनको चरणमा बढी भूमिका निर्वाह गर्न आवश्यक पर्दछ। पहिलो चरणमा सूचना

सङ्कलन गरिएको हुन्छ। यसरी सङ्कलित सबै सूचना पत्रकारिताका विषयवस्तु बन्न सक्दैनन्। त्यसलाई सम्पादन गर्न जरुरी हुन्छ। त्यही सम्पादनको काम नै खासमा प्रशोधन हो।

कुनै पनि सङ्कलित सूचनालाई समाचार सामग्रीका रूपमा तयार गर्दा त्यहाँ निश्चित विधि अपनाउनुपर्दछ। त्यो समाचारको सत्यताको जाँच गर्दै त्यसको सन्तुलन, विश्वसनीयता, मानवीय अभिरुचिपूर्ण, समय सान्दर्भिक बनाउने र प्रवाह गर्न लायक बनाउने काम सम्पादनका क्रममा गरिन्छ।

त्यसैगरी त्यो समाचार सामग्री पस्कँदै गर्दा सामाजिक उत्तरदायित्व बहन भयो कि भएन भनेर पनि ध्यान पु-याउनुपर्ने हुन्छ। पत्रकार र त्यो समाचार प्रवाह गर्ने आमसञ्चार संस्थाले यति कुरा पूरा गरेपछि मात्र त्यो समग्रतामा पत्रकारिता कर्म भयो। यसो गरिएन भने त्यो मर्यादित पत्रकारिता हुँदैन। नेपालको आमसञ्चार नीतिले भनेको छ– ‘आमसञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कनका लागि अभिप्रेरित गरी स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताको विकास गर्ने।’ यसरी सम्पादनको कार्यलाई गम्भीरताका साथ पूरा गरेमा मात्र आमसञ्चार नीतिको उद्देश्यअन्तर्गतको उल्लेखित बुँदाको सम्मान गरेको ठहरिन्छ।

पत्रकारितामा चुनौतीहरूसमेत त्यत्तिकै सामना गर्नुपर्ने हुन्छ। पत्रकार स्वयंको व्यवहार, काम गर्ने शैली र सुरक्षा सतर्कतालगायतका क्षेत्रमा समस्या आउने गरेको छ। यस्तो अवस्थाको न्यूनीकरण गर्न पत्रकार स्वयंले पनि आफ्नो सुरक्षालाई ध्यान दिई काम गर्नुपर्दछ। यसका लागि पत्रकार स्वयंले अपनाउने सतर्कताका बारेमा पत्रकार महासङ्घले तयार गरेको पत्रकार सुरक्षा नीति २०७४ मा भनिएको छ– ‘आचारसंहिताको पूर्ण पालना गर्ने प्रत्येक पत्रकारले आफूले कुनै पनि विषयको रिपोर्टिङ गर्दा नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएको र नेपाल पत्रकार महासङ्घको पत्रकार सुरक्षा नीति नेपाल पत्रकार महासङ्घको विधानमा उल्लेख गरिएको पत्रकार आचारसंहिता २०७३, त्यसमा हुने संशोधन वा त्यसपछि जारी भएका आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। यसका साथै महासङ्घले जारी गरेको वा महासङ्घले स्वामित्व लिएको आचारसंहिता पालना गर्नुपर्नेछ। यस्तै बेला–बेलामा जारी हुने नीति वा निर्देशनको समेत पालना गर्नुपर्नेछ। यदि पत्रकार सम्बद्ध सञ्चार संस्थाले कुनै किसिमको आचारसंहिता जारी गरेको छ भने त्यसको पनि पालना गर्नुपर्नेछ।’

अब युट्युबरहरू पत्रकार हुन् कि होइनन् भन्ने प्रश्नको जवाफ खोज्न उल्लिखित सन्दर्भहरूको विश्लेषण गर्नुपर्ने हुन्छ। पत्रकारको कर्म, उनीहरूको सम्पादनका क्रममा खेल्ने भूमिका, कुनै पनि सूचनालाई सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित भएर प्रवाहयोग्य बनाउने दायित्व बहन गरेको छ भने त्यो पत्रकार हो।

अहिले युट्युब प्रयोगकर्ताहरूले प्रवाह गर्ने सामग्रीका कारण उनीहरूको आलोचना भइरहेको छ। व्यक्तिका निजी कुरा छताछुल्ल पार्ने, अतिरञ्जनायुक्त सामग्री पस्कने, सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेका कारण उनीहरूमाथि प्रश्न उठेको हो। माथि चर्चा गरिएझैँ सूचना प्रणालीको ख्याल गर्दै सम्पादन कार्यलाई सचेततापूर्वक सम्पन्न गर्ने हो भने त्यहाँबाट प्रवाह हुने सामग्रीका सन्दर्भमा पनि प्रश्न उठ्ने छैन। बिनासम्पादन जस्तो पनि सामग्री प्रवाह गर्दा त्यहाँ पत्रकारिताको भाव मर्छ। पत्रकारिताको भाव मारेर सामग्री पस्कनेहरूलाई पत्रकार मान्न सकिँदैन। युट्युब प्रयोगकर्तामध्ये कतिपयले पत्रकारिताको आधारभूत सिद्धान्त र दायित्व पनि ख्याल गरेको पाइँदैन। उनीहरूका कारण सम्पूर्ण युट्युब प्रयोगकर्तामाथि नै प्रश्न उब्जिएको छ। युट्युब प्रयोगकर्ताले आफ्नो युट्युब च्यानललाई पत्रकारिताका लागि प्रयोग गर्ने कि आफ्नो व्यक्तिगत अर्काइभका रूपमा प्रयोग गर्ने भन्ने कुराको निधो पहिले नै गर्न आवश्यक छ। व्यक्तिगत अर्काइभका रूपमा त्यो च्यानललाई प्रयोग गर्दा आफ्ना निजी कुराहरू राख्न सकियो। मनपरेका सामग्री राख्न सकियो। उहिले–उहिले फोटो राख्नका लागि एल्बमको प्रयोग गरेझैँ इन्टरनेट प्लेटफर्मलाई प्रयोग गर्न सकियो तर युट्युबलाई पत्रकारिताको माध्यम बनाउने हो भने त्यो स्वघोषणा गर्नुपर्छ र पत्रकारिताको सिद्धान्तमा टेकेर सामग्री उत्पादन गर्न पर्दछ। पत्रकारिता गर्नका लागि यसको आधारभूत ज्ञान हुन जरुरी छ।

अहिलेको लोकतान्त्रिक समाजमा सामाजिक उत्तरदायित्वका आधारमा पत्रकारिता गर्नुपर्ने मान्यता राखिन्छ। युट्युबका सामग्रीमा यो उत्तरदायित्वमा ध्यान नपु-याएको पाइएकाले नै उनीहरूलाई पत्रकार नमान्न समाज बाध्य भएको हो। तसर्थ युट्युबरहरू पत्रकार बन्ने कि प्रयोगकर्ता बन्ने भन्ने कुराको पहिलो निर्णय प्रयोगकर्ता स्वयंले गर्नुपर्दछ र त्यो निर्णयको स्वघोषणा गर्नुपर्दछ। पत्रकार बन्ने हो भने माथि चर्चा गरिएका सन्दर्भसँग आफ्नो कर्मलाई जोड्न पनि आवश्यक पर्दछ। यति मात्र होइन नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले जारी गरेको आचारसंहितामा पत्रकारले गर्न हुने र नहुने कुराहरू प्रस्ट्याइएको छ। त्यसको अक्षरशः पालनाबिना पत्रकार हुन सकिँदैन। आचारसंहितामा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने सूचीसमेत उल्लेख गरिएको छ।

जसअनुसार सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने कार्य गर्न हुँदैन भने भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण गर्न हुँदैन। साथै हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने, पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।

पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न हुँदैन भने घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न हुँदैन र बीभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्न नहुने व्यवस्था आचारसंहितामा गरिएको छ। फोटो तथा दृश्यको गलत प्रयोग हुँदैन भने विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुति गर्न नहुने व्यवस्था गरिएको छ। अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एक पटक प्रकाशित सामग्री प्रकाशनपश्चात् हटाउन हुँदैन तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पु-याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ।

पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री सङ्कलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नुहुँदैन भने पत्रकार तथा सञ्चारमाध्यमले प्रायोजकबाट प्रभावित भई समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन। पत्रकार तथा सञ्चारमाध्यमले समाचार स्रोतसँग पेसागत मर्यादाविपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरुपयोग गर्नुहुँदैन भने प्रविधिको अदृश्य प्रयोग गर्नुहुँदैन तर सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी सङ्कलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ।

न्याय निरुपणमा प्रभाव पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नुहुँदैन भने पेसागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण गर्नुहुँदैन। मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर पु-याउनुहुँदैन। जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन भन्ने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ। पत्रकार बन्नका लागि गर्नुपर्ने दायित्व निर्वाह गरे÷नगरेको

छुट्याउने काम आमसञ्चारका उपभोक्तको हो। कुनै पनि सञ्चारमाध्यमको भूमिकाका आधारमा उसका बारेमा धारणा बनाउने पहिलो र अन्तिम हक त्यो सञ्चारमाध्यमका उपभोक्ताहरूमा अन्तरनिहित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button