विचार

गोकर्ण रिसोर्टको बिबाह-यज्ञ, चौका चँदुवा, भोजभतेर र आतसवाजीले उब्जाएको सामान्य जिज्ञासा

झिल्को डटकम
प्रबल कार्की

`एकातिर जनयुद्धका घाइते सेनाहरू उपचार नपाएर मर्ने, बेपत्ता र सहिद परिवारको बिचल्ली हुने, आफ्नै पार्टीले हिजो स्थापित गरेका बैज्ञानिक सांस्कृतिक मूल्यबिरुध्द प्रतिक्रान्तिकारीहरू बलशाली हुँदै जाने अनि आफैं चाहिँ नेतृत्व भएर पनि महंगोमध्येको रिसोर्टमा चौका चँदुवा, यज्ञ, आतसवाजी र चौरासी ब्यन्जनसहितको करोडौ खर्च गरी घरानिया रवाफसहितको पार्टी भोज गर्ने नेताहरुको प्रवृत्तिकै कारण जनतामा निराशा थपिएको छ । यस्तो अचाक्ली कुनै कोणबाट पनि सामान्य बिचलन होइन…….´
माओबादी निकट नेपाल बुद्धिजीवी संगठनका सह संयोजक निलकण्ठ तिवारीले शनिबार आफ्नो फेसबुक स्टाटसमा उल्लेखित कुरा लेखेका हुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टीलाई नयाँ शिराबाट पुनर्सङ्गठित गर्नुपर्छ भनेर सुझाब दिएको भोलिपल्ट नै उनले चिन्ताका साथ यस्तो फेसबुक स्टाटस लेखेका हुन ।

शुक्रबार काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायण दाहालका नाति एवं अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिब समीर दाहालका छोराको भब्य बिबाह समारोहले कम्युनिष्ट सांस्कृतिक मूल्यको त कुरै छाडौं, बिबाह खर्च सीमाको कानुनी प्राबधानको समेत धज्जी उडेको महसुस गरिएको छ । त्यहाँ चौका चँदुवासहितको मण्डपमा पुरोहितमार्फत बिबाह-यज्ञ गरिएको छ। भब्य आतसवाजी गरिएको छ । र, लाखौंलाख खर्चिएर हजारौंबीच भोज-भतेर गरिएको छ । यसप्रति असन्तुष्टि तिवारीको देखिन्छ ।

सामान्यतया कम्युनिष्ट आन्दोलनमा लागेका नेतृत्वहरूले परिवार ‘मर्यादा’को कारण देखाएर परम्परागत संस्कारका लागि बाध्य भएको तर्क गर्दछन् । जन्म, बिबाह र मृत्युसम्मका र त्यसबीचमा आइपर्ने अन्य कयौं संस्कारहरूमा परम्परागत सामाजिक रितिलाई अति क्रान्तिकारीपना देखाएर टारिहाल्दा समाजबाट एक्लो बनिने डर अस्वाभाविक होइन । समाजका बहुसंख्यकलाई चित्त बुझाएरै त्यस्तो आँट गर्ने कमै हुन्छन् । त्यस सीमाका बाबजुद पनि कम्युनिष्ट भनिनेहरूसँग गरिने अपेक्षा के हो भने संस्कारमा मितब्ययिता, तडकभडकरहित सादापन !

त्यसो भन्दैमा मांगलिक र दुखान्त परिवेशका प्रति कोही कम्युनिष्ट निरपेक्ष हुनुपर्छ भन्ने होइन । कम्युनिष्टमा त अरुमा भन्दा धेरै सांस्कारिक मर्यादा हुन्छ/हुनुपर्छ । तर, त्यसलाई प्रस्तुत गर्ने शैलीमा रुढ धर्मग्रन्थबाट मुक्त हुने अनि अन्धबिश्वासका सट्टा बिश्वासका पक्षहरूलाई बोकेर सादा र सरल बनाउने, उदाहरण बन्ने काम कम्युनिष्टहरूको हो ।

ब्यक्ति नारायण दाहाल वा ब्यक्ति समीर दाहालको हकमा बिबाह जस्तो आफ्नो परिवारभित्रको संस्कारमा बाहिरबाट गरिने आलोचना गलत हुनसक्छ । तर, उनीहरू त दुबै, एउटा कष्टसाध्य कम्युनिष्ट समरबाट आएका नेतृत्व हुन् । पारिवारिक संस्कारहरूमा कम्युनिष्ट मूल्य-पद्धतिको सानै मान्यता भए पनि स्थापित गर्नुपर्ने दायित्वका ब्यक्तिहरूमा यो हदको बिचलन हुन्छ भने त्यसबाट आम समाजले के सिक्ने ? त्यसमाथि प्रचलित कानुनले समेत बिबाह-तडकभडक वा खर्चका बारेमा सीमा निर्धारण गरेको छ ।

नारायण-समीर परिवारका लागि समाजलाई सिकाउनुपर्ने दायित्व त छ नै, आफ्नै कार्यकर्ता- शुभचिन्तकसामु जवाफदेही बन्नुपर्ने दायित्व समेत छ । बुध्दिजीबीका नेता निलकण्ठले भने जस्तै एकातिर जनयुद्धका घाइते सेनाहरू उपचार नपाएर मर्ने, बेपत्ता र सहिद परिवारको बिचल्ली हुने, आफ्नै पार्टीले हिजो स्थापित गरेका बैज्ञानिक सांस्कृतिक मूल्यबिरुध्द प्रतिक्रान्तिकारीहरू बलशाली हुँदै जाने अनि आफैं चाहिँ नेतृत्व भएर महंगोमध्येको गोकर्ण रिसोर्टमा चौका चँदुवा, यज्ञ, आतसवाजी र चौरासी ब्यन्जनसहितको ‘बफेट’ बिबाह पार्टी गर्ने ! कुनै कोणबाट पनि सामान्य लाग्ने बिचलन यो होइन।

अझ नारायण-समीर परिवारलाई अध्यक्ष प्रचण्डसँग दाजुभाइकै पारिवारिक नाताका रूपमा जोडेर हेर्ने गरिन्छ । नितान्त दाहाल हुनुको नाताले यसरुपमा हेरिएको तर्क गरे पनि अध्यक्षको नेतृत्वमा, सधै अध्यक्षलाई पूर्ण र अबिराम सहयोग गर्दै, कस्तै अप्ठेरोमा पनि काँध थाप्दै आएको परिवार हो यो । बिज्ञको कोटाको राष्ट्रियसभा सदस्य पदमा नारायण दाहाल मनोनित हुँदा अध्यक्षले नै चर्को आलोचना खेप्नुपर्यो । केही बर्ष अगाडिसम्म समीर स्वयं अध्यक्षको स्वकीय सचिब थिए । त्यसैले आफ्ना स-साना गैरसांस्कृतिक आकांक्षाले पार्टीलाई र ब्यक्तिगत रूपमा अध्यक्षलाई समेत क्षति पुग्छ भन्ने हेक्का उनीहरूलाई हुनुपर्छ ।

कष्टसाध्य जनयुद्ध र शान्ति प्रक्रिया पछाडिका राजनीतिक उपलब्धिलाई धेरै बलियो सांस्कृतिक योगदानबाट मात्र समाजवादसम्म संक्रमण गर्न सकिन्छ । यसरी, यतै रमाउने प्रवृत्तिले प्रतिक्रान्तिकारीहरू झन हावी हुनेछन् । नारायण-समीर परिवारले यो नबुझेको होइन । तर, किन नबुझेजस्तो भयो, अचम्मै महसुस गरिएको छ।

दाहाल परिवारमा छाएको बैबाहिक खुशीप्रति भने हार्दिक शुभकामना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button