खबर

सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद

अरूण बम
काठमाडौँ
नेपाली सेनाका उपरथि प्रेम शाही मंगलबार सैनिक हिरासतमा परे। जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका शाहीलाई ‘आर्थिक अनुशासनमा नबसेको’ भन्दै हिरासतमा लिग्यो।

हिरासतमा रहेका शाहीको शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा शाहीको जन्ममिति फरक हुँदा उनको अवकाशको विषयमा विवाद उत्पन्न भएको थियो। नागरिकता प्रमाणपत्रमा २०२३ पुस २२ गते छ भने बुढानीलकण्ठ विद्यालयले जारी गरेको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते उल्लेख छ।

स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा जतिसक्दो चाँडो शाहीलाई सेनाको कार्यकालबाट बिदा गर्न चाहन्थे। शाहीलाई बिदा गर्दा सेनाको आगामी रथी (तीनतारे जनरल) बढुवामा आफूले इच्छाइएको व्यक्ति ल्याउने र भविष्यमा बन्ने प्रधानसेनापतिको रोलक्रमसम्म खेल्न सकिने शर्माको ‘इन्ट्रेस्ट’ रहेको स्रोतको दाबी छ।

यसका लागि प्रधानसेनापति शर्माले सबैभन्दा पहिला उपरथी शाहीकै प्रमाणपत्रहरूमा रहेको ‘उमेरसम्बन्धी विवाद’को सहारा लिए। सैनिक ऐन, २०६३ अनुसार उपरथीको सेवाअवधिमा उमेरहद ५७ वर्ष छ। शाहीको चारित्रिक प्रमाणपत्रको जन्ममितिअनुसार ५७ वर्ष बुधबार पुग्छ। यही कुराको सहारा लिएर जंगी अड्डाले गत पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाश प्राप्त गर्नु’ भन्ने व्यहोराको पत्र थमाएको थियो।

शाहीको दलिल केही फरक थियो। उनी बुढानीलकण्ठ विद्यालयले इस्वी संवत्मा रहेको जन्ममितिलाई उल्था गर्दा २०२२ लेखिदिएर त्रुटि गरेको उनको दाबी थियो। जसका लागि उनले सम्बन्धित विद्यालयबाट अर्को पत्र नै लेखाएका छन्। यसअनुसार आफ्नो सही जन्ममिति नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको २०२३ पुस २२ गते नै रहेको दाबी छ।

यही दाबी लिएर उनी जंगी अड्डाको पत्र खारेजीको माग गर्दै सेवाअवधिको निरन्तरताका लागि रिट बोकेर पुस ७ गते सर्वोच्च पुगेका थिए। उनको रिटमा पुस १३ सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलास बस्यो। जसले शाहीको अवकाश ‘कार्यान्वयन नगर्नू/नगराउनू, निवेदकलाई यथा अवस्थामा काम गर्न दिनू’ आदेश दिएको थियो। सर्वोच्चको यही आदेश बोकेर जंगी अड्डामा हाजिर हुन पुगेका उपरथी शाही ‘आर्थिक अनुशासनमा नबसेको’ आरोपमा पक्राउ परेका छन्।आजको नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button