मूल खबर

भागबन्डा टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब

टपेन्द्र कार्की
काठमाडौँ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि अन्य तीन मन्त्रीको जिम्मेवारी तोकिएको छैन। सत्ता साझेदार एमाले, माओवादीलगायतका दलले पाउने मन्त्रालयको संख्या टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

दलहरूबीच शक्ति बाँडफाँटको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको एक नेताले बताए। यसै विषयलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुराकानी भएको थियो। उनीहरूबीच मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको थियो।

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ एमाले र माओवादीबीच छलफल चलिरहे पनि कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लाग्न सकेको छैन। प्रधानमन्त्री दाहाल बुधबार साँझ यसै विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए। करिब अढाइ घण्टा नेतद्वयले शक्ति बाँडफाँटका विषयमा छलफल गरेका थिए। सरकार सञ्चालनका लागि समन्वय गर्न बनाइएको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। तर सत्ता घटक दलले कुनकुन मन्त्रालय पाउने भन्ने यकिन नहुँदा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो।

सत्ता घटक सबै दलबीच बिहीबार मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने भनिए पनि अन्तिममा दाहाल र ओली मात्र टेबुलमा बसे। दाहालका स्वकीय सचिव रमेश मल्लले दुवै नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए।

सरकारमा सहभागी सबैभन्दा ठूलो दलको हैसियतमा एमालेले ११ वटा मन्त्रालय पाउने भनिएको थियो। अहिले आएर एमालेले नौदेखि १० वटासम्म मन्त्रालय पाउने भनिएको छ। उपप्रधानमन्त्रीसहित एमालेका चारजना अहिले सरकारमा छन्। एमालेले पाउने बाँकी मन्त्रालयमा अहिलेसम्म अवसर नपाएकालाई पठाउने तयारी छ।नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button