मूल खबर

पुरानालाई पाखा लगाएर ज्वाइँलाई मन्त्री

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य। तस्बिर : अन्नपूर्ण

राकेश कर्ण
विराटनगर : पार्टीमा योगदान गरेका अन्य नेताहरूलाई पाखा लगाएर माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ प्रदेश १ सरकारको मन्त्री बनेका छन्।

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा माओवादी सांसद जीवन आचार्य प्रदेश १ सरकारको दोश्रो कार्यकालको मन्त्री बनेका हुन्।

माओवादी केन्द्रको बिहीबार बसेको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहितको बैठकको निर्णयविपरीत अध्यक्ष प्रचण्डको दबाबमा आचार्यलाई मन्त्री बनाइएको हो।

अध्यक्ष प्रचण्डमाथि लाग्दै आएको परिवारवादको आरोपलाई नजरअन्दाज गर्दै आचार्य सरकारमा सहभागी भएका हुन्। शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पद तथा गोपनियताको शपथ लिएका छन्।

मन्त्रिपरिषद् विस्तारका क्रममा आचार्यबाहेक अन्य २ मन्त्रीले पनि शुक्रबार शपथ ग्रहण गरेका छन्। नेकपा एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईं प्रदेश सरकारमा सहभागी भएका हुन्।

यो सँगै प्रदेश १ सरकारको मन्त्रीमण्डल ७ सदस्यीय भएको छ। यसअघि पौष २५ गते मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले प्रदेश सरकारको मन्त्रीका रूपमा शपथ लिएका थिए।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी थिइन्। तर, मन्त्रालयको भागबण्डा नमिलेका कारण नवनियुक्त मन्त्रीहरूलाई तत्काल कुनै विभागीय जिम्मेवारी प्रदान गरिएको छैन।

अन्य मन्त्रीहरूको नियुक्ति नियमानुसार भएपनि प्रचण्डका ज्वाइँ जीवन आचार्यको नियुक्ति भने प्रचण्डको एकलौटी निर्णयले भएको माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई बताए।

नाम नखुलाउने शर्तमा उनले भने, ‘अध्यक्ष प्रचण्डको यो कदमले पार्टीभित्र चर्को वितृष्णा पैदा भएको छ। प्रदेश सरकारको आगामी कार्यकाल पनि संकटमा परेको छ।’

बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश पदाधिकारीहरूको बैठकमा पनि अधिकांशले अध्यक्ष प्रचण्डलाई विवादमुक्त भएर सरकार सञ्चालनका लागि आचार्यलाई मन्त्री बनाउन नहुने सुझाव दिएका थिए।

त्यस विषयमा पदाधिकारीहरूको एकमत थियो। कसैले पनि जीवन आचार्यको नाम सिफारिस समेत गरेका थिएनन्। तर, अध्यक्ष प्रचण्डको एकल निर्णयका कारण चर्को आलोचनाका बीच आचार्य प्रदेश सरकारको मन्त्री बनेका छन्।

यसले पार्टीमा लामो समयदेखि योगदान गरेका अन्य नेताहरूको गरिमालाई ठेस पुगेको उदयपुरबाट निर्वाचित माओवादी सांसद राजन किराँती बताउँछन्।

प्रचण्डको आफन्त नपरिएकै कारण अन्य योग्य र सक्षम नेताहरूलाई पाखा लगाइएको उनको आरोप छ। उनले भने, ‘जनताको सेवा गर्न अध्यक्ष कमरेडको आफन्त हुनुपर्ने ? यो कस्तो अभ्यास हो ?’अन्नपूर्ण पोष्टबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button