कृषि र किसान

सहरमा अभाव गाउँमा बिक्दैन दूध

लक्ष्मी सापकोटा
काठमाडौँ । दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो ।

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।

दैनिक पाँच लाख लिटर अभाव

राष्ट्रिय डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बजारमा हाल दैनिक पाँच लाख लिटर दूधको अभाव रहेको जानकारी दिनुभयो । सामान्य अवस्थामा बजारमा दैनिक ३६ लाख लिटर दूधको आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो ।

खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उहाँको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएको र गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूधको अभाव भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीअघि खपत नभएको दूधबाट धूलो दूध उत्पादन गरेर भण्डारण गर्ने गरिएको थियो तर अहिले दूधकै उत्पादन कम भएकाले दुग्ध उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको व्यवसायीले बताउनुभयो ।

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले असोजदेखि फागुनसम्म धेरै दूध उत्पादन हुने समय भए पनि अहिले अभाव रहेको बताउनुभयो।

दूधको खपत वार्षिक १४ प्रतिशतले बढ्दै गए पनि सो अनुपातमा उत्पादन नबढ्दा बजारमा दूधको अभाव देखिएको उहाँको भनाइ छ । डीडीसीका अनुसार गत वर्ष अहिलेको समयमा मुलुकभर दैनिक एक लाख ८० हजार लिटर दूधको सङ्कलन हुने गरेकामा अहिले घटेर एक लाख लिटरमा झरेको छ । “अघिल्ला वर्ष एक लाख लिटर दूध प्रशोधन गरेर बजारमा पठाउने र बाँकी दूधको धुलो दूध बनाएर चैतदेखि भदौसम्म खपत हुने गरेको थियो । अहिले दूधको अभाव हुँदामा धुलो दूध उत्पादन भएको छैन भने घिउ र बटरको उत्पादन पनि बन्द गरिएको छ,” झाले भन्नुभयो ।

अहिले दूध र दही मात्र बिक्री गरिएको डीडीसीले जनाएको छ । डीडीसीले आफ्ना बिक्री केन्द्रबाट फाट्टफुट्ट घिउ बिक्री गरे पनि बजारमा भने पठाएको छैन।

भारतबाट तीन लाख लिटर आयात

डीडीसी बजारमा दूधको अभाव रहेकाले तत्कालका लागि उद्योग चलाउन दूध आयात गर्ने अनुमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आग्रह गरेको छ । हाल डीडीसीको दुग्ध कारखाना ५० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको बताइएको छ ।

डीडीसीले गत असोज महिनामा भारतको पटनाबाट एक महिनामा तीन लाख लिटर दूध आयात गरेको थियो । पछिल्लो समय सहकारी संस्थाले आफैँ दूध प्रशोधन गरेर बजारमा पठाउने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने बढेकाले पशुपालन घट्दो क्रममा छ । व्यावसायिक रूपमा सञ्चालनमा रहेका ठूला फार्मको सङ्ख्या घट्दै गएको छ । दूधको उत्पादन बढाउन सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन गरे पनि उत्पादन भने बढ्न सकेको छैन । कुल उत्पादन भएको दूध डीडीसीले ३० प्रतिशत र निजी डेरी उद्योगले ७० प्रतिशत सङ्कलन गरेर बजारमा वितरण गर्ने गरेका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूध उत्पादन भएको थियो । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकामा ७.५ प्रतिशत पशुपन्छी र दुग्ध क्षेत्रको ३.५ प्रतिशत योगदान रहेको छ ।

गाउँमा बिक्री हुँदैन दूध

सहरी क्षेत्रमा दूधको अभाव भए पनि गाउँमा उत्पादन भएको दूध बिक्री हुन सकेको छैन । सहकारी संस्थाले किसानबाट सङ्कलन गरेको दूध स्थानीय बजारमा वितरण हुने गर्छ । सहरी क्षेत्रको दूध बजारमा सहजै आएपछि गाउँगाउँमा सङ्कलन गर्न नजाने गर्दा किसानको दूध बिक्री नभई खेर जाने गरेको हो ।

काभ्रेका किसान हीरालाल सापकोटाले दुर्गम गाउँको दूध बजारमा आउन नसकेको बताउनुभयो । चोकर दानाको मूल्य बढेर दूधको उत्पादनको लागत दिन प्रतिदिन बढ्दै गए पनि दूधको मूल्य नबढ्दा किसान पशुपालनबाट पलायन हुने अवस्था भएको उहाँले बताउनुभयो । गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसक्दा खेर जाने गरेको उहाँले जानकारी दिनुभयो ।

तनहुँस्थित मत्स्यकन्या गाईपालनका सञ्चालक दीपेन्द्र अधिकारीले सहकारी संस्था नभएको दुर्गम ठाउँमा किसानलाई दूध बिक्री गर्न समस्या हुने गरेको बताउनुभयो । सहरी क्षेत्रमा सहकारीले दूध सङ्कलन गरेर बजारमा पु-याउने भए पनि गाउँको उत्पादन बजारसम्म आउन नसकेको उहाँले जानकारी दिनुभयो । उत्पादनको लागत बर्सेनि बढ्दै गए पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको उहाँले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button