
मिथिलेश यादव
जनकपुरधाम
२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा भएको ओमप्रकाश महतो (दिलीप) को हत्या मुद्दाका तीनजना अभियुक्त दोषी ठहर भएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीपलाई मनशायपूर्वक हत्या गरिएको ठहर गर्दै त्यसमा तीनजना दोषी भएको फैसला सुनाएको हो।
अदालतले बुधबार सुनाएको फैसलामा विपीनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहरको उल्लेख छ। विपिन र मुनिन्द्रलाई योजनाकार र जितेन्द्रलाई घटनाको मतियार ठहर गरिएको छ। अदालतले दोषी ठहर गरे पनि प्रतिवादीहरूलाई सजाय भने निर्धारण गरेको छैन। यही फागुन १२ गते उनीहरूलाई के कति सजाय हुने भन्ने निर्धारण हुनेछ। दुई जनालाई जन्मकैद गर्नेबारे १२ गते मात्र अदालतले निर्णय गर्नेछ। मतियारलाई मूल सजायको आधा हुने कानुनी व्यवस्था छ।
घटनाका प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघ्न महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका छन्। दिलीप हत्यामा संलग्न भएको दाबीसहित सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जन्मकैद माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो। दिलीपका बुवा रामजीवन महतोले भने, ‘जिल्ला अदालत धनुषाको आदेशलाई उच्च अदालतमा पुनरावेदन गर्छु। मेरो छोराको हत्यामा संलग्नलाई जाहेरीमा उल्लेख भएका सात जनामाथि नै कारबाही हुनुपर्छ, न्यायका लागि म सर्वोच्चसम्म जान तयार छु।’
धनुषा जिल्ला अदालतको अभिलेखअनुसार दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा २०७६ माघ २३ गते दर्ता भएको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम विपक्षी सात जनामाथि आजीवन कैद सजायको माग गरिएको थियो। उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए। वातावरण संरक्षण अभियन्ता दिलीपले क्रसर उद्योगीको ज्यादतीविरुद्ध अभियान चलाएका थिए। सोही कारण उनको हत्या भएको थियो।नागरिक दैनिकमा खबर छ ।



