मूल खबर

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

बालकृष्ण अधिकारी, भुवन शर्मा र अरूण बम
काठमाडौँ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ। पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ। साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ‘संसद्को ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ,’ उनले आठ दलीय बैठकपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिमा कांग्रेसले सार्ने उम्मेदवारलाई जिताउन सबै दल लाग्ने सहमति भएको छ। निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने हामीबीच समझदारी बनेको छ।’नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button