मूल खबर

युक्रेन युद्धको एक वर्ष : अन्त्य अझै अनिश्चित

श्रीराम सुवेदी
काठमाडौँ
रुसले युक्रेनविरुद्ध पूर्ण स्तरमा आक्रमण गरेको शुक्रबार एक वर्ष पूरा भएको छ। दुवै देशबीच शान्तिवार्ताको छिटपुट प्रयास भए पनि युद्धको अन्त्य चाँडै हुने परिस्थिति अझै देखिएको छैन। युद्धका कारण भएका मृत्युबारे आधिकारिक तथ्यांक दुवै देशले सार्वजनिक गरेका छैनन्। तर दोस्रो विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा ठुलो मानिएको यो युद्धमा परेर हजारौंको ज्यान गएकोछ र लाखौं मानिस विस्थापित भएका छन्। रुसी आक्रमणको एक वर्ष पुगेको दिन शुक्रबार बिहान युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा भनेका छन्, ‘गत फेब्रुअरी २४ मा हामी लाखौंले एक बाटो रोजेका थियौं। हामी भाग्नेछैनौ। बरु शत्रुसँग डटेर लड्नेछौ। प्रतिरोध र संघर्ष गर्नेछौं।’ उनले आगामी वर्ष विजयीको वर्ष हुने दाबीसमेत गरेका छन्।

‘यो एक वर्ष दु:ख, पीडा, विश्वास र एकताको वर्ष थियोे। यो अपराजेयताको वर्ष थियो। हामीलाई थाहा छ, यो वर्ष हाम्रो विजयको वर्ष हुनेछ,’ सर्वशक्तिमान मानिएको रुसी सेनाको आक्रमणको प्रतिरक्षा गर्न सफल जेलेन्स्कीले भनेका छन्। सिंगो विश्वको अर्थव्यवस्था, ऊर्जा तथा खाद्य संकटदेखि भूराजनीतिक तनावसमेत सिर्जना गरेको यो युद्धको अझै अन्त्य हुने छाँट देखिएको छैन। गत वर्ष फेब्रुअरी २४ मा युक्रेन आक्रमण गर्दा रुसी राष्ट्रपति पुटिनले केही दिनमै युद्ध सकिने आकलन गरेका थिए। उनले राजधानी किभलाई आक्रमणको केन्द्र बनाउन र राष्ट्रपति जेलेन्स्कीलाई बन्दी बनाउन प्रस्ट निर्देशन दिएका थिए। तर उनले एक वर्षसम्म पनि त्यो सफलता हात पार्न सकेका छैनन् र त्यो दुष्कर बन्दै गएको छ।

युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि युक्रेनको पूर्वी तथा पश्चिमी क्षेत्रमा भीषण लडाइँ जारी छ। अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले युक्रेनको पक्षमा थप सहयोग गर्ने प्रतिबद्धता र रुसविरुद्ध विभिन्न खाले थप प्रतिबन्धका घोषणा गरेका छन्।

सैनिकी क्षति

दुवै देशले कति सैनिकको मृत्यु भयो भनेर सार्वजनिक गरेका छैनन्। गत डिसेम्बरमा युक्रेनका राष्ट्रपतिका सल्लाहकारले कुल १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको स्वीकार गरेका थिए। बेलायती सरकारको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनअनुसार यो युद्धमा परेर ४० देखि ६० हजार रुसी सैनिकको मृत्यु भएको छ। सन् १९७९ देखि सन् १९८९ सम्म चलेको अफगानिस्तानसँगको युद्धमा रुसका १५ हजार सैनिकको मृत्यु भएको थियो। राष्ट्रसंघको तथ्यांकअनुसार युद्धका कारण ७ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्। राष्ट्रसंघले हताहती र घाइतेको संख्या अझै धेरै हुन सक्ने आकलन गरेको छ।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button