
मुक्ति पौडेल
मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक धार्मीक महत्व बोकेको पाताल गंगा मन्दिर अहिले कसैको संरक्षणमा पर्खाईमा रहेको जस्तो छ ।
महाभारतकालिन किंवदन्तीसँग जोडिएको पाताल गंगाका बारेमा श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाको पनि कथा जोड्ने गरिन्छ । भौगोलिक हिसाबले मेचीनगरको उच्च भागमा रहेको पाताल गंगामा निरन्तरको पानी धाराको बहावले यसको नाम धार्मीक रुपमा पाताल गंगा बन्न पुगेको स्थानीय बताउँछन् । हिन्दू धर्मालम्वीहरुको आस्थाको रुपमा रहेको पाताल गंगाको धाराबाट आउने पानीलाई गंगाजलको रुपमा लिइने गरिन्छ ।टोकला चिया बगान क्षेत्र भित्र रहेको पाताल गंगाको सर्वपक्षीय विकासका लागि सरोकारवाला पक्षहरुले चासो देखाउनु पर्ने बताउँछन् स्थानीय सामाजिक अगुवा राजेन्द्र ईदिङ्गो । उनका अनुसार पाताल गंगाको विकास र संरक्षणका लागि स्थानीय सरकार र स्थानीयको अग्रसरतामा गुरु योजना बनाएर यसलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाई छ । मेचीनगर नगरपालिका वडा नं ८का वडा अध्यक्ष गिरीराज धमलाका अनुसार पाताल गंगाको ऐतिहासिक र धार्मीक महत्वलाई मनन गरेर यसको संरक्षणमा सबैले चासो र अग्रसरता देखाउनु पर्ने उनको राय छ । पाताल गंगाको संरक्षणका लागि वडाले चासो राख्ने गरेको तर यतिले मात्र यसको विकास र प्रचारका लागि पर्याप्त नहुने भएकाले स्थानीय, प्रदेश र संघीय सरकारले समेत यसको अध्ययन र विकासका लागि ध्यान दिन जरुरी भएको धमला बताउँछन् । पाताल गंगाको विकास र संरक्षणका लागि सबैको ध्यान र चासो पुग्न जरुरी भएको स्थानीयको सुझाव छ ।



